अपडेट 
२०७७ माघ १९, सोमबार ०७:३०

त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।

विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ । यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ ।

यसका साथै विश्वविद्यालयले स्नातकोत्तर तहमा वैशाख अन्तिमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । यसअघि चैतमा स्नातकोत्तर तहको शैक्षिक सत्र सुरु गर्ने गरिए पनि अब भने वैशाखबाट मात्रै शैक्षिक सत्र सुरु गर्ने तयारीमा आफूहरू पुगेको जानकारी शिक्षाध्यक्ष भुसालले दिए । हाल विश्वविद्यालयमा स्नातक तहका वार्षिक परीक्षाका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसका आधारमा पनि स्नातकोत्तर तहको शैक्षिक सत्र वैशाखमै पुग्ने स्थिति देखिएको उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News