
जनकपुरधाम । संसद विघटन बिरुद्ध नेपाली काँग्रेसका भातृ संगठनहरुले सोमबार विरोध प्रदर्शन गरेको छ ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले संघर्षका थप कार्यक्रमहरु घोषणा गरेअनुरुप सोमबार पार्टीको भातृ संगठनहरुले विरोध प्रदर्शन गरेको हो । नेपाली काँग्रेसका भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल मुस्लिम संघलगायतका संगठनहरुले जनकपुरधाममा वृहत विरोध प्रदर्शन गरेको हो । पार्टी कार्यालयबाट सयौंको संख्यामा निस्केको जुलुस क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले केपी ओली तेरो पाराले दुःख पायो साराले, संसद विघटन गर्न पाइँदैन, संसद विघटनको असंवैधानिक कदम खारेज गर लगायतका नाराहरु लगाएका थिए । नेपाली काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ वटै पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

माघ २४ गते पार्टीका शुभेच्छुक संस्था र फागुन ३ गते जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने बताइएको छ ।