कुनै बेला मैले मधेशकेन्द्रित दलहरुलाई ‘ भ्यागुताको धार्नी’को संज्ञा दिएको थिएँ । यसको कारण थियो उनिहरु भित्रको अवसरवादिता तथा एक अर्काको खुट्टा तान्ने प्रवृत्ति । क्षेत्रीय हित अर्थात् मधेशी एजेन्डालाई केन्दमा राखेर संसदिय राजनीति गर्ने यी दलहरु मूख्यतः गजेन्द्रनारायण सिंहको सद्भावना तथा उपेन्द्र यादवको फोरम, दुई क्षेत्रीय राजनीतिक धाराबाट विकसित भएका हुन् ।
क्षेत्रीय यस कारण भनियो कि राजनैतिक विचारधाराको अर्थमा यी पार्टीहरु नेपाली राजनीतिको दुई मूख्य वैचारिक प्रवृत्ति वामपन्थी तथा मध्यपन्थी लोकतान्त्रिक समाजवादी अर्थात कम्युनिस्ट पार्टीहरु तथा नेपाली काँग्रेसको राजनैतिक आन्दोलनका प्रत्युपादहरु हुन्, जसलाई मधेशी अधिकारको आन्दोलनले नयाँ सन्दर्भमा क्षेत्रीय राजनीतिक पार्टीको रुपमा विकसित हुन वातावरण र अवसर निर्माण गरिदिएको हो । एउटा खास मोडमा राप्रपा लगायत केही दक्षिणपन्थी प्रवृत्तिका राजनीतिक दलहरुबाटपनि यस धारामा मिसिन आएका हुन् । यी राजनीतिक दलहरुको बीचमा देखिने अन्तरविरोध र गूटबन्दीमा यिनीहरुको वाम, मध्य र दक्षिणपन्थी राजनैतिक अतीतलेपनि भूमिका खेल्ने गर्छन् । हुन त यस क्षेत्रीय राजनैतिक धाराका अधिकांश नेतृत्वहरुमा प्रायः नेका, कम्युनिस्ट पार्टीहरु र राप्रपाबाट अवसरको खोजीमा आएकाहरु हुन्, तर समयक्रममा र मधेशी अधिकारको आन्दोलनमा परिमार्जित भएर यिनीहरुले विशिष्ट राजनैतिक पहिचान कायम गरिसकेका छन् । जे होस, पारम्परिक सत्ताबाट राजनैतिक अधिकारको हकमा दमित मधेशी समुदायको आन्दोलन विष्फोट भएपछि मधेशका जनताहरुको राजनैतिक साँस्कृतिक पहिचान र अधिकारको नाममा एउटा दीर्घकालीन एजेन्डा विकसित भएको हो र यस धारामा सबै सामेल हुन पुगेका हुन् ।
हुन त शुरुमा सबै एउटै राजनैतिक मञ्चमा जम्मा भएका थिए, तर निजी राजनैतिक स्वार्थको कारण उनिहरु धेरैबेर सम्म एकजुट रहन् सकेनन् र नेतै पिच्छे पार्टीहरु खुल्न थालेको बेलामा मैले उपरोक्त ‘भ्यागुताको धार्नी’को उपाधि दिएको हुँ । तर अलग्गिएर बसे आन्दोलनमा मात्र होइन, संसदिय चुनावी राजनीतिमा समेत कमजोर हुने तथ्य बुझेर होला उनिहरुले राजनैतिक प्रवृत्तिको आधारमा दुई कित्तामा एकजुट हुनपुगेका थिए । एउटा कित्ता उपेन्द्र यादवको नेतृत्वमा संघीय समाजवादीको धारा थियो भने अर्को महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनतापार्टी थियो । राजपा सदभावना धाराका विभिन्न घटकहरुको संयुक्त मोर्चा जस्तो थियो, जस्मा छवटा घटकका छवटा नेताहरु थिए, जस्का आ–आफ्ना राजनैतिक महत्वाकांक्षा थिए । महन्थ ठाकुर भने नेपाली काँग्रेसबाट आएर यस धारामा मिसिएका थिए । राजपामा महन्थ ठाकुर र राजेन्द्रमहतो व्यक्तित्व र संगठन दुबैको आधारमा दुई ठूला र निर्णायक नेताको रुपमा देखिएपनि अन्य नेताहरुको महत्वाकांक्षापनि कम थिएन ।
अर्कोतिर उपेन्द्र यादवको संघीय समाजवादी फोरम एमालेबाट आएका आदिवासी नेता अशोक राईको समूहसंग एकता गरेपनि त्यहाँ निर्णायकरुपमा यादव एक्ला नेता थिए । एउटा यथार्थ के हो भने उपेन्द्र यादवको एकल वर्चस्वकारी स्वाभावको कारण नै महन्थ–राजेन्द्र लगायत अलग्ग्नि बाध्य भएका हुन् । पछि डा. बाबुराम भट्टराईको एकता गरेर यादव र डा. भट्टराई नेतृत्वको समाजवादी पार्टीको गठन भएको हो । उल्लेखनीय छ, सम्भवतः यादव र ठाकुरको पार्टीहरुमा क्षेत्रीय पार्टीबाट राििष्ट्रय स्तरको पार्टीमा विकसित हुने लालसा नै भन्नु पर्छ कि विगत केही वर्षदेखी उनिहरु मधेशी एजेन्डाको सीमा र भुगोल नाध्ने खोजीमा रहेको देखिन थालेका हुन् । महन्थ र राजेन्द्रहरुको रेसम चौधरी लगायत पच्छिम नेपालका थारु लगायत आदिवासी जनजातिय आन्दोलनसंग सम्बन्ध विस्तार गर्ने प्रयासहरु यसैका परिणाम हुन् । यादवले गरेको राई र डा. भट्टराईसंगको सम्बन्ध विकासपनि यस्तै प्रयासहरु हुन् । यसो गर्नुको पछाडी यी राजनीतिक दलहरुले केन्द्रिय राजनीतिमा आफ्नो बार्गेनिङ्ग पावर बढाउने उद्देश्यमात्र देखिन्छ । किनभने यी पार्टीहरुको आकार बढदै जानु तथा मधेशी आन्दोलनको बीच तुलना गर्ने हो, तुलनात्मकरुपमा सडक आन्दोलन कमजोर हुँदैगएको देखिन्छ । जहाँसम्म प्रभावको कुरा छ, यी पार्टीहरु अझै तराईमधेशमा नै प्रभावी देखिएका छन् ।
यसभन्दा बाहिर भने यिनीहरुले प्रभाव देखाउन बाँकी नै छ । तर केही महिना पहिले प्रधानमन्त्रीले पार्टी विभाजनसम्बन्धमा सम्विधान संशोधन विधेयक ल्याएपछि गुट–उपगुटमा बाँडिएका मधेशकेन्द्रित दलहरु रातारात एकजुट हुन बाध्य भएका थिए ।जनता समाजवादी पार्टी यसैको परिणाम थियो । यो बाध्यात्मक भय कतिसम्म थियो कि उपेन्द्र र महन्थ–राजेन्द्रको वर्चस्व र व्यक्तित्वको कटुसंघर्षपनि महत्वहीन भएका थिए । हुन त चौतर्फी दबाबको कारण प्रधानमन्त्रीले पार्टी विभाजनको संशोधन विधेयक फिर्ता लिए, तर यसै कारण भएपनि मधेशकेन्द्रित दलहरुबीचका एकतालाई तराईमधेशको राजनीतिमा सुखद र सकारात्मकरुपमा नै लिइएको थियो । त्यतिबेला मलाईपनि यो ‘भ्यागुताको धार्नी’ वास्तविक अर्थमा ‘धार्नी’ बन्ला कि जस्तो लागेको थियो । हुन त यस एकता भित्रपनि सत्ता लिप्सामा आधारित अवसरवादिताकै वर्चस्व थियो, तरपनि राजनैतिक साँस्कृतिक अधिकारको आन्दोलनको दृष्टिले जनसमुदायले यसलाई सकारात्मक नै मानेका थिए । यद्यपि राजपा भर्सेज समाजवादी पार्टी, अझ भनौँ उपेन्द्र भर्सेज महन्थको वर्चस्वको कटुता कायमै रहेको तथा पटक पटक देखिने गरेकै थियो ।
प्रधानमन्त्रीले व्यवस्थापिका विघटन र नयाँ निर्वाचनको घोषणा गरेपछि लाग्छ, जसपाभित्रको अवसरवादिता तथा कटुसम्बन्धहरु फेरी सतहमा देखिन थालेका छन् । विगत केही दिनमा जसरी उपेन्द्र र महन्थका जनवर्गीय संगठनहरुले फरक फरक कार्यक्रम गरीरहेका छन्, अर्का गूटका नेताहरुलाई खबर गरीरहेका छैनन् र अर्कोले वक्तब्य निकालेर नै कार्यक्रम बहिष्कारका आह्वान गरीरहेका छन्, त्यसले जसपाभित्र स्थिति गम्भीर हुँदैगएको देखाउँछ । निर्वाचन हुने हो वा विघटित व्यवस्थापिका संसद पुनस्र्थापित हुने हो, यो त भविष्यकै विषय हो, तर यसले राजनीतिक पार्टीहरुलाई दोमनको स्थितिमा उभ्याईदिएको छ । राजनीतिक दल तथा नागरिक समाजको ठूलो र बहुमत हिस्सा प्रधानमन्त्रीको यस कदमको विरुद्ध सडकमा देखिन्छन् । तर निर्वाचन हुने हो कि ! भन्ने सम्भावनाले हरेक पार्टीलाई गम्भीरपनि बनाएको छ । यसले राजनीतिक पार्टीका नेताहरुलाई आफ्नो सीट कसरी सुरक्षित पार्नेतिर बढी आकर्षित गर्न थालेकोपनि देखिन्छ । अहिले जसरी जसपाभित्र कटुता तथा अस्थिरता देखिन थालेको छ, त्यसको पछाडीपनि सम्भावित निर्वाचनले पनि भुमिका खेलेकोमा इन्कार गर्न सकिँदैन ।
प्रधानमन्त्रीले निर्वाचन जसरीपनि हुने र आफूले जसरीपनि दुईतिहाई सीट जित्ने जुन दावी गरीरहेका छन्, त्यसले कमजोर जनाधार भएका नेताहरुमा भय उत्पन्न गर्ने र के–कसो गर्ने चिन्ता हुनुपनि स्वाभाविक हो । समाजवादी पार्टी र राजपाबीचको एकतापछि कयौँ साना नेताहरुको हैसियत झन् कमजोर हुँदै गएको तथा आगामी निर्वाचनमा उनिहरुको स्थिति अनिश्चित हुँदैगएको पनि यथार्थ हो । यसकारण उनिहरु नयाँ विकल्पको खोजीमा लाग्नुपनि स्वाभाविक नै हुनेछ । यसरी नै महत्वकांक्षी तर लो प्रोफाइलमा रहेका नेताहरु र प्रभावशाली कार्यकर्ताहरु आफ्नो हैसियत विकास गर्न नयाँ विकल्पको खोजीमा लाग्नुपनि स्वाभाविक नै हो । जसपाभित्रको यस अस्थिरता तथा नयाँ सम्भावनाहरुलाई केन्द्रिय राजनैतिक शक्तिहरुले नबुझेका छैनन् । प्रचण्ड–माधवको नेकपा होस वा प्रम ओलीको नेकपा वा नेपाली काँग्रेसका नेताहरुको जसरी तराई मधेशमा आवत जावत बढेको छ, त्यसको पछाडी जसपाभित्रको अवसरवादी अस्थिर सम्भावनाहरुले पनि भूमिका खेलेका छन् ।
हुन त पार्टी परिवर्तन गर्ने युवाहरुले कारण जे सुके भनेपनि, विगत केही दिनदेखी जसपाको युवा फ्रन्टबाट प्रभावशाली युवाहरु प्रधानमन्त्रीको पार्टीमा समाहित हुँदैछन् र पार्टीभित्रको एउटा प्रभावशाली नेताको पार्टी पलायनका सम्भावित खबरहरु पत्रपत्रिकाका विषय बनिरहेका छन् । यसले जसपाभित्रको संकट तीव्रगतिमा गम्भीर हुँदैगएको संकेत गर्छ । समग्र राजनीतिको दृष्टिले हेर्दा अहिले प्रधानमन्त्रीको गैरसम्वैधानिक तथा फासीवादी कदमको विरुद्ध सबै राजनैतिक पार्टीहरु, नागरिक समाज तथा जनसमुदायहरु सडकमा उत्रनु पर्नेथियो । उनिहरुले यस राजनैतिक अस्थिरतालाई सत्ता र राजनैतिक प्रणालीलाई वास्तविक अर्थमा जनवादीकरण गर्ने उद्देश्यको संघर्षमा विकास गर्नुपर्ने थियो । मधेशी जनताको राजनैतिक अधिकारको दृष्टिले हेर्दापनि बाँकी रहेका अधिकारको एजेन्डा पूरा गराउन प्रष्ट नाराका साथ आन्दोलनमा उत्रनुपर्ने बेलामा जसपा आफ्नै अवसरवादितामा अल्झेको छ । मधेशकेन्द्रित दलका नेताहरुले प्रधानमन्त्रीको कदमलाई असम्वैधानिक भनेपनि त्यसको विरोधमा आन्दोलनमा सशक्तरुपमा उत्रेका छैनन् । विडम्बना के छ भने आफूलाई बौद्धिक जमात भन्नेहरुपनि यस राजनैतिक संकट प्रति उदासीन देखिएका छन् ।
मधेशकेन्द्रित दलहरु राजनीतिको नैतिकता र अनैतिकताभन्दापनि अवसरवादितामा अल्झेको तथा जनवादितालाई किनारा लगाएर आन्दोलनभन्दापनि आफ्नो चुनावी सीटको चिन्तामा मगन देखिएका छन् । यसले एकपटक फेरी यिनीहरुको हैसियत मैले भनेझैँ‘भ्यागुताको धार्नी’ सत्य हुने हो कि देखिन थालेको छ । हुन त अहिलेको स्थितिमा समग्र संसदिय राजनीति नै अवसरवादिताको शिकार छ । जसपा यस्तै राजनीतिको एउटा प्रत्युपाद हो । यससंगै संसदिय राजनीतिमा उसले जुन हैसियत कमाएको हो, त्यो मधेश आन्दोलनकै प्रतिफल हो भन्नेपनि यथार्थ नै हो । तर केन्द्रिय संसद र दुई नम्बर प्रदेशमा सरकार संचालनका दौरान जसरी उसले आन्दोलनको एजेन्डालाई उपेक्षा गर्दै पुस्तौँ पुस्ताको निम्ती अर्थोपार्जन गर्नमा व्यस्त देखिएको छ, त्यसले जनसमुदायबीच उसको विश्वास त घटेकै छ, उसको राजनैतिक हैसियत पनि कमजोर भएको छ ।
यस्तोमा जसपाका नेताहरुले पार्टीभित्रको कटुता र अस्थिरतालाई समाधान गर्न सकेनन् भने तथा राजनैतिक चरित्र प्रदर्शन गर्न सकेनन् भने टुटफुटको प्रक्रिया र भागाभागको पुरानो वातावरण फेरी शुरु हुने सम्भावनापनि छ ।



