अपडेट 
२०७७ माघ २१, बुधबार ०७:३७

आजभोलि घोषित वा अघोषित रुपमा आफूप्रति र आफ्नो दलप्रति समर्थन रहेको छ भन्ने देखाउन भिड प्रदर्शन गर्ने प्रतिस्पर्धा चलेको जस्तो देखिन्छ । झन्डै नेपालभरि नै यस प्रकारको प्रवृत्ति देखिएको छ । नेपालका मुख्य राजनैतिक दलहरु नेकपाका दुवै समूह, नेपाली काँग्रेस, जसपा आदि सबैले गर्ने कार्यक्रमहरुमा निकै ठूलो भिड देखिन थालेको छ । केही दिन पहिले राप्रपाले गरेको कार्यक्रममा पनि भिड देखिएको थियो । यसरी हरेक राजनीतिक पार्टीले गर्ने कार्यक्रममा उत्तिकै भिड देखिन्छ । कुनै पनि पार्टीका ठूला नेता आउँदा र आमसभा गर्दा प्रायः अपत्यारिलो किसिमले मानिसको उपस्थिति हुने गरेको छ । आमसभाहरुमा सर्वसाधारणको उपस्थिति देखेर स्वाभाविक हो, नेता तथा दलमा उत्साह जाग्दछ । आफूप्रति समर्थन रहेको स्पष्ट व्याख्या गर्न कुनै अप्ठ्यारो हुँदैन । हामीकहाँ जनमतको सर्वेक्षण गर्ने कुनै आधार तयार भएको छैन । जनमत सर्वेक्षण गर्ने कुनै संयन्त्र तयार भइसकेको छैन । यसले गर्दा सर्वसाधारणको उपस्थिति कति छ भन्ने आधारमा नै लोकप्रियतालाई नाप्ने गरिन्छ । एक किसिमले लोकप्रियता प्रदर्शनीय भएको छ । जहाँ बढी नागरिकको उपस्थिति छ, त्यो ठाउँ लोकप्रिय भएको मानिन्छ । यसै गरी जुन दल वा नेताको कार्यक्रममा अपेक्षाभन्दा बढी मानिसको उपस्थिति रहेको सामान्य अनुमान हुन्छ, ती नेता वा दलप्रति धेरैको समर्थन रहेको वा लोकप्रिय रहेको मान्न सकिन्छ । यस प्रकार वर्तमान भिडभाडको अवस्थालाई विश्लेषण गर्ने हो भने हरेकजसो राजनैतिक पार्टीका ठूला नेताहरु आमसभामूलक जिल्लास्तरीय वा निर्वाचन क्षेत्रस्तरीइ कार्यक्रम लिएर कार्यकर्तामाझ वा जनतामाझ पुग्दा अत्यधिक भिड देखिने गरेको छ ।

आमसभामा देखिने भिडलाई कतिपयले अस्वाभाविक भन्ने गरेका छन् । अस्वाभाविक बताउनेहरुले केही तर्क पनि दिने गरेका छन् । अहिले तिन तहको सरकार छ । सर्वसाधारण नागरिकलाई तिन तहकै सरकारबाट अपेक्षा तथा चाहनाहरु छन् । यस अर्थमा सर्वसाधारण मानिस तिन तहकै तिनवटै सरकारसित प्रत्यक्षः जोडिएका छन्, गाँसिएका छन् । स्पष्ट छ, कतिपय मानिस वर्तमान सरकार र सरकारमा रहेको दलप्रति आस्थावान छन् । सरकारप्रति आस्थावान रही सरकार र दलको कार्यक्रमलाई आफ्नो कार्यक्रम मान्नेहरु प्नि छन् । सरकारका विभिन्न योजना तथा अन्य गतिविधिमा प्रत्यक्ष संलग्न पनि छन् । यसकारण सरकारमा रहेको दलले आयोजना गर्ने कार्यक्रममा स्वाभाविक आकर्षण हुन्छ । अनि जनसहभागिता देखाउनु पर्ने हुँदा केही बढी जोडबल गर्दा अत्यधिक भिड देखिन पुग्छ । प्रदेश सरकारप्रति यही भाव रहेको छ । प्रदेश सरकारमा रहेका दलहरुको कार्यक्रममा पनि भिड हुन्छ किनभने प्रदेश सरकारबाट पनि आशा र अपेक्षा छन् । प्रदेश सरकारका पनि आफ्ना योजना र कार्यक्रमहरु हुन्छन् जसलाई लागू गर्ने अनेक संयन्त्र छन् । ती संयन्त्रमा संलग्न मानिसहरु रहेका छन् । यसै गरी स्थानीय तहको पनि सरकार रहेको छ । कुनै पनि दलले प्रायः त्यहाँ कार्यक्रम गर्दछन् वा त्यहाँबाटबढी जनसहभागिताको अपेक्षा राख्दछ जहाँ उसको स्थानीय सरकार रहेको छ ।

स्थानीय सरकारले जनसहभागिता जुटाउन बढी सहयोग गरेको पनि सही हो । यसले यो पनि स्पष्ट हुन्छ कि वर्तमान केन्द्रीय सरकारमा रहेको दल वा प्रदेश सरकारमा रहेको दल वा स्थानीय सरकारमा रहेको दलको आयोजनामा आमसभा हुँदा मानिसको उपस्थिति बढी देखिएको हो । कार्यक्रममा जानेहरु सबै समर्थक नै हुन् भन्ने होइनन् भनेर पनि अथ्र्याइन्छ । यो कुनै एक दल वा कुनै एक नेताको लागि होइन, प्रायः हरेक ठूला कार्यक्रमपछि यसरी भन्नेहरु पनि छन् । केही तमासा हेर्न वा ठाउँ डुल्न जाने पनि हुन्छन् भनिएको पाइन्छ । यसलाई पनि अस्वाभाविक रुपमा लिइएको पाइँदैन । यसको अर्थ यो पनि हो कि आमसभाहरुमा देखिने भिडमा मानिस प्रायोजित पनि हुन्छन् वा हुन सक्छन् भन्ने हो । केही हदसम्म मानिसको भिड प्रायोजित पनि होला भन्ने आरोप लगाउनेहरुले के तर्क दिने गरेका छन् उही मानिस सबैतिर वा धेरैतिर सहभागी भएका छन् । यसमा पनि केही हदसम्म सत्यता होला । अघि सन्दर्भ आइसकेको छ कि अहिले तिन तहको सरकार रहेको छ र सर्वसाधारणतिन तहको सरकारसित गाँसिएको अवस्था छ । आमसभाहरुमा प्रत्यक्ष वा परोक्षरुपमा जोडिएका छन् । अहिलेको अवस्थामा कुनै पनि पार्टीले आयोजना गर्ने आमसभामा मानिसको संख्या बढी देखिएको हो ।

गाउँ समाजमा बसेपछि आलोपालो गर्ने सिस्टम पनि बसिसकेको छ । एकै घरका एक जना एउटा, अर्को अर्को र अर्को झन् अर्को पार्टीमा लागेका छन् । यस्तो अवस्थामा घरका एकजना लागेको पार्टीले आयोजना गरेको कार्यक्रममा तिनैजना पुग्नुलाई पनि स्वाभाविक मानिन थालिएको छ । अझ सहभागिता बढी देखाउनु पर्ने ठाउँमा तिन जनाका समर्थकहरु समेत जोडिन्छन् । अनि उही मानिस सबैको कार्यक्रममा पुगेको भ्रम वा वास्तविकता लाग्न सक्छ । अहिलेको अवस्थामा यस्तो देखिएको पनि छ । कतिपयले पैसा दिएर लगेको पनि आरोप लगाएका छन् । यसमा सत्यता होला वा नहोला तर यदि पैसा दिएर मानिसको भिडभाड देखाउनको लागि मानिस ओरालेको हो भने यो नराम्रो संस्कारको विकास भएको अवस्था हो । यस किसिमको प्रचलनले मानिसको समर्थन कहाँ रहेको र कता रहेको भन्ने विषय गौण हुन जान्छ । मानिसमा द्रव्यमोह बढ्न सक्छ र कुनै पनि दलको समर्थन गर्दा वा उसको पक्ष वा विपक्षमा नारा लगाउँदा पैसा आउँछ भन्ने गलत मनोविज्ञानको विकास हुन पुग्छ । लोकतन्त्रको दृष्टिकोणले यो त्यत्ति राम्रो होइन । लोकतन्त्रमा जनाधार देखाउने मुख्य साधन चुनाव भए पनि चुनाव नभएको समयमा कुन दलको आह्वानमा कति मानिस आउँछन् भन्ने कुराले पनि महत्व राख्ने हुन्छ । यस कारण पैसा दिएर मानिसलाई कुनै आमसभामा कुनै दलको समर्थन वाविरोधमा मानिसलाई लैजानु हुँदैन भन्ने भनिन्छ । यद्यपि कतिपयले के पनि भनेका छन् भने गरिबलाई आमसभामा लैजादा खाना वा खाजा दिने र साथमा त्यस दिनको ज्याला पनि दिने चलन राम्रो हो । एकथरिको भनाइ यस्तो पनि रहेको छ कि अहिलेको समय खासै कुनै कामधन्दाको छैन ।

लामो समयसम्मको लकडाउनले गर्दा मानिसको जीवन पूर्णतया चलायमान भइसकेको छैन । यसकारण धेरै मानिस यत्तिकै बसिरहेका छन् । अझ अहिले किसानहरुलाई खेतीपातीको खासै काम पनि छैन । अहिलेको समय भनेको खासै काम पनि नभएको र खासै फुर्सद पनि नभएको अवस्था रहेकोले कुनै पनि दलले आह्वान गर्दा आमसभामा मानिसको भिड लाग्ने गरेको छ । काम नभएको अवस्थामा जुनकुनै दलको कार्यक्रम हुँदा सर्वसाधारण मानिसहरु सहभागी हुने र नेताज्यूहरुका मन्तव्य सुन्ने गरेका छन् । नेताज्यूहरुका कुरा धेरै समयपछि सुन्न पाएकाले मानिसको भिड आमसभाहरुमा पुग्ने गरेको छ । आमसभाहरुमा देखिएको अहिलेको भिडलाई आफूलाई समर्थन गरेको वा कसैलाई विरोध गरेको भन्ने अर्थमा लिन नहुने भन्नेतर्क रहेको छ । आमसभामा जसरी वा जुनसुकै कारणले मानिसहरुको भिड पुगोस् । मानिस त आखिर मानिस नै हो, भिडमा मानिस छैन भन्न सकिँदैन । यसबाट केही विश्लेषक तथा बुद्धिजीवीहरु भने अचम्भित भएका छन् कि अहिले कस्तो समय आएको हो कि जनसमर्थन कसको पक्षमा रहेको छ र कसको कुरा जनताले पत्याइरहेका छन् भनी छुट्याउन सजिलो भएको छैन । तथ्य र तर्क एक ठाउँमा छन् तर बहसमा दम भने फरक कुरो हो ।

सर्वसाधारण नागरिक भने सबैलाई सुनेका छन् । सुन्न पुगेका छन् । सबै आमसभामा उत्साहपूर्ण ताली बजेका छन् । नेताहरुलाई स्वागत गरेका छन् र बोलीबाट उत्साहित भएका छन् । यसबाट चिया पसलदेखि अत्यधिक जाडोको समयमा घुर ताप्दासम्म सर्वसाधारणले टिप्पणी गरिरहेका छन् । र, यो पनि विश्लेषण गरिरहेका छन् कि अहिलेको आमसभामा देखिने भिडलाई समर्थन वा विरोधको रुपमा लिइहाल्न हतार हुनेछ तथा भिडलाई पछिसम्म टिकाइराख्न सम्बन्धित दलहरुलाई चुनौती हुनेछ । संयमित तथा सभ्य भिडलाई लोकतन्त्रको गहना बताउँदै यो पनि बताइरहेका छन् कि लोकतन्त्रमा नागरिकलाई सबैको कुरा सुन्ने अधिकार हुन्छ र हुन सक्छ सर्वसाधारण नागरिकले आफ्नो यही सार्वभौम अधिकारको सदुपयोग गर्दै आमसभाहरुमा पुगिरहेका छन् तथा सबैको भएको भन्ने देखाइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News