अपडेट 
२०७७ माघ २१, बुधबार ०८:३३

संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्ने तयारी गर्नुभएको छ ।

नियुक्तिको सिफारिसलाई सदर गर्नका लागि अहिले राष्ट्रपति कार्यलय शितल निवासमा तयारी भैरहेको कार्यलयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो । केहीबेरमा नियुक्तिको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्नुहुने र नियुक्ती लगत्तै बिहान ११ बजेभित्रमा सबैजनालाई शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पन्तको भनाइ छ ।

संवैधानिक परिषदले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको भन्दै शपथ रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदना पेस गर्नुभएको छ । संवैधानिक परिषद्ले नियुक्ति सम्बन्धमा गर्ने सिफारिस संसदीय सुनुवाइ समितिमा पेस हुनुपर्ने बाध्यात्मक व्यवस्था संविधानको धारा २९२ ले गरेको छ ।

यसअघि सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाउनुभएको थियो । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको लागि परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिनुभएको हो ।

सरकारले गएको पुस ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । बैठकमा परिषद् सदस्यसमेत रहनुभएका विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा उपस्थित हुनुभएको थिएन ।

Comment


Related News

Latest News

Trending News