अपडेट 
२०७७ माघ २१, बुधबार १०:४१

तेस्रो मुलुकबाट साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले नेपाल भित्र्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भदौ ६ गते आएको उत्त मल पाँच महिना भइसक्दा पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । एक लाख २५ हजार बोरामा रहेको २८ करोड मूल्य बराबरको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताएका छन ।
कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत मगाइएको सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा रहेको छ । स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले आयात गरेको उक्त मल भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन ।सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपु¥याएको र त्यहाँ राखिएको अवस्था असार(साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने प्रमुख लामिछानेले भने, ‘भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेशनले जिम्मेवारी लिदैन ।’

भिजेको र डल्लो परेको सो मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्गापुरले लिनुपर्ने र उक्त मलको भुक्तानी भने सरकारले तिर्न नसकिने बताइएको छ । भिजेर बिग्रिएको अवस्थामा सो मल आएकाले जाँचपास हुन नसकेको, भए पनि कुनै प्रायोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

उक्त रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जहीतहीँ छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ । ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँचपास गर्न कानूनी प्रावधान नभएकाले त्यस्ता मललाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ ।

नेपाल सरकारको प्रतिबोरा १३२ रुपैया २० पैसा अनुदान रकममा आयात भई नेपाल भित्रिएको सो मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्न सकेन । डलरमा प्रतीतपत्र खोलेर तेस्रो मुलुकबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानूनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काइ आयात गरिएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News