अपडेट 
२०७७ माघ २१, बुधबार ११:३५

संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिसमा परेका पदाधिकारीले आज सपथ ग्रहण गरेका छन् । गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट सिफारिस भएका सबैले आज सपथ लिएका राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिए ।

सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएकोमा संसदीय सुनुवाइको लागि प्रतिनिधि सभा भंग भइसकेकोले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भने सोमबार नियुक्ति फिर्ता गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्छ । यद्यपि, समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ । तर, सुनुवाइ समितिमै नपुगी ४५ दिन पु¥याएर अनुमोदनविनै नियुक्त गरिनु अवैधानिक हुने तर्क कानुनविद्हरूको छ । सुनुवाइविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।

विद्यमान कानुनी व्यवस्थालाई संशोधन गरी प्रधानमन्त्री केपी ओलीले आफू अनुकूल अध्यादेश ल्याएर संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै यो नियुक्तिको विरोध समेत भइरहेको छ ।
अर्कोतर्फ चुनावको घोषणापछि केपी ओली नेतृत्वको सरकार कामचलाउ बनेकोले महत्वपूर्ण निर्णय र नियुक्ति गर्न/गराउन नपाउने भएपनि सरकारले थप नियुक्ति गरेकोमा सरकारको विरोध भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News