अपडेट 
२०७७ माघ २९, बिहीबार ०८:१३

आवश्यक भवनको अभावका कारण पठनपाठनमा समस्या भोगिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको दुई विद्यालयमा दुई तल्ले नयाँ भवन बन्ने भएको छ ।

उक्त गाउँपालिकाको वडा नं. ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालय तथा वडा नं. १ स्थित तिलाठी माध्यमिक विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने निश्चित भएको हो । उक्त संसदीय क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वडा नं. ४ स्थित राजेन्द्र देवकी माविमा बन्ने भवनको शिलान्यास गरेका छन् । एक करोड २५ लाख २७ हजार ९ सय ९६ रुपैयाँको लागतमा सो विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने र टेण्डर प्रक्रिया समेत अघि बढिसकेको गाउँपालिका अध्यक्ष् सतिश कुमार सिंहले जानकारी दिए ।

यस्तै वडा नं. १ स्थित तिलाठी माविमा बन्ने ६ कोठे दुई तल्ले भवनको शिलान्यास भन्ने बिहीबार अध्यक्ष यादवद्वारा नै गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले बताए । आफ्नो संसदीय निर्वाचन क्षेत्रको विकासका लागि अध्यक्ष यादवको पहलमा स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दुबै विद्यालयमा नयाँ भवन निर्माण हुन लागेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश झाले बताए । सो अवसरमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहको पनि उपस्थिति रहेको थियो ।

विद्यालयमा सुविधा सम्पन्न ६ कोठे दुई तल्ले भवन निर्माण हुने निश्चित भएपछि स्थानिय अभिभावक र विद्यार्थी हर्षित भएका छन् ।

Comment


Related News

Latest News

Trending News