अपडेट 
२०७७ माघ ३०, शुक्रबार १५:५१

प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रबार माइतिघर मण्डलमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध नागरिक खबरदारी गरिएको हो ।

विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लगायत नारा लेखिएको प्ले कार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरुले संसद विघटनको कदमको विरोध गरेका छन् ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमका विरुद्ध सबै बुद्धिजिवीहरु एकै ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताउनुभयो । उहाँले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।

नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल मर्म स्वतन्त्रता र नागरिक अधिकार भएपनि सरकारले खोसेको बताउनुभयो । उहाँले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको बताउनुभयो ।

डा. केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको भन्दै सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादीहरु एकठाउँमा आउनुपर्ने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News