अपडेट 
२०७७ फाल्गुन ६, बिहीबार १५:१९

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्दको खोप दुई साताभित्र नेपाल आइपुग्ने बताउनुभएको छ ।

बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले २ साताभित्र खोप नेपाल आइपुग्ने जानकारी दिनुभएको हो । उहाले खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइएको पनि जानकारी दिनुभयो । मन्त्रालयले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो । खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइने उहाले जानकारी दिनुभयो । यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइने मन्त्री त्रिपाठीले बताउनुभयो । मन्त्री त्रिपाठीले चिकित्सक संघले सार्वजनिक गरेको चिकित्सकको परामर्श शुल्कसम्बन्धी पत्रका बिषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । यस बिषयमा मन्त्रालयले थप निर्णय गर्नुपर्ने भएपनि संघले एकलौटी रुपमा शुल्क बढाउने निर्णयमा मन्त्रालयको सहमति नरहेको उहाले बताउनुभयो । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबारबाट चिकित्सकको परामर्श शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । त्यस्तै मन्त्री त्रिपाठीले नीजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सेवा सुविधा कम्तीमा न्युनतम गर्न सरकारले पहल सुरु गरेको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News