अपडेट 
२०७७ फाल्गुन ८, शनिबार ०८:५१

जनकपुरधाम । पुर्व राष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका छन् ।

बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समधान गर्न सल्लाह दिनुपर्ने राष्ट्रपतिले हतार गरी संसद बिघटन गरे, डा.यादवले भने,‘संसद विघटन गर्नु अघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसंग सल्लाह लिनुपथ्र्यो ।’ सविधानको रक्षा गर्ने राष्ट्रपतिले ‘कुलिङ पिरियड’ लिएर अगाडी बढनु पर्ने समयमा प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गरेको यादवले बताए । जनकपुरमा शुक्रबार ‘समाजवाद र वीपी कोइराला’ र ‘वीपी विचारसङ्ग्रह’को लोकार्पण गर्दै पुर्व राष्ट्रपति यादवले मुलुकमा हुलमुलको अवस्थाले लोकतन्त्रमाथि ग्रहण लागेको बताए । डा.यादवले प्रधानमन्त्री केपी शर्मा ओली सताको उन्मादमा संविधानको धारा नै उल्लेख नगरी संसद विघटन, निर्वाचनको घोषणा गरी संवैधानिक निकाय र प्रशासन कब्जामा लिएको आरोप लगाए । प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिंदा संविधान र संघीयता खतरामा परेको छ, उनले भने । विपक्षी र विज्ञसंग सल्लाह लिएर संविधानको उपलब्धिको संरक्षण गर्नुपर्ने राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको गल्तीमा साथ दिएको यादवले आरोप लगाए ।

मुलुक र लोकतन्त्रमाथि आएको संकटले राती निन्द्रा लाग्न छोडेको उल्लेख गर्दै डा. यादवले मुलुकलाई आइसीयुबाट जेनरल वार्डमा सहकार्य र समन्वय गर्नुपर्ने बताए । पुस्तक लोकार्पण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपलब्धिलाई समाप्त गरी चुनावको मिति तोकेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए । प्रधानमन्त्रीलाई असंवैधानिक रुपले ऐन ल्याउन सहयोग गर्ने नेकपा अध्यक्ष प्रचण्डले सहयोग गरेकै कारण मुलुकमा संकट आएको छ, कोइरालाले भने, ‘देश जटिल अवस्थाबाट अगाडी बढेको छ । राज्यको ढुकुटीबाट बिरोध सभा गर्नु लोकतन्त्र हुन सक्दैन ।’ राष्ट्रपति मर्यादित संस्था भएपनि व्यक्तिको भुमिका निर्वाह गरेको छ, उनले भने । नेकपाको एउटा गुटको मात्रै राष्ट्रपति बनेर मुलुकमा एकपछि अर्को गल्ती दोहरिएको छ, उनले भने ।

Comment


Related News

Latest News

Trending News