अपडेट 
२०७७ फाल्गुन ९, आईतवार १६:३६

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने भएपछि सत्तारुढ नेकपा सरकार पक्षले प्रदेश १ को प्रदेशसभा बैठक बहिस्कार गरेको छ ।

आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो । यसअघि आइतवार नै मूख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई भेटी सूचना टाँस गरी वैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो । तर भण्डारीले मूख्यमन्त्रीको प्रस्ताव अस्वीकार गरी वैठक बोलाउने अडान लिनुभएको थियो । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका थिए । निलम्बित सांसदहरु सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भनी सत्तारुढ सांसदहरुले वैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

यसबारेमा सभामुखलाई जानकारी गराएको मन्त्री जगदीश कुशियतले जानकारी दिनुभयो । निलम्बनको अवधि ३ महिना हुने प्रावधान छ । त्यसैले त्यस अवधिसम्म आफूहरु बैठकमा सहभागी नहुने नेकपा सरकार पक्षका सांसदहरुले जिकिर गरेका छन् । तर प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव आइतवार नै टेबल हुने भएको छ । आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेस हुने उल्लेख रहेको पराजुलीले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News