अपडेट 
२०७७ फाल्गुन १२, बुधबार ०८:०७

नेपालको कानुनले बालविवाहलाई रोकेको छ । पहिलेदेखि नै बालविवाह समाजमा भइरहेकोमा अहिले पनि रोकिएको देखिएको छैन । सरकारले कानुनमा नै परिवर्तन गरी केही वर्ष पहिले बालबालिका कुन उमेरको मानिसलाई मान्ने भन्ने स्पष्ट पारिसकेको छ । बालबालिकाको उमेरमा विवाहको दृष्टिकोणले केही फरक धारणा रहेको छ । देशले सोरह वर्ष उमेर पूरा गरेको मानिसलाई नागरिकताको प्रमाणपत्र दिन्छ । यसको तात्पर्य यो हो कि नागरिकताको प्रमाणपत्र प्राप्त गर्नको लागि सोरह वर्ष उपयुक्त छ ।

यसै गरी विभिन्न किसिमका जागिरका लागि अठार वर्षको उमेर पूरा भएपछि योग्य मानिएको छ । अठार वर्षको उमेरलाई मतदानको अधिकार पनि दिइएको छ । मतदान गर्न पाउने उमेरको दृष्टिकोणले पनि अठार वर्षको उमेरलाई बालिग मानिएको हो । विवाह गर्ने उमेरको हकमा भने बिस वर्षलाई आधार मानिएको छ । यसबाट यो पनि स्पष्ट हुन्छ कि अन्य दृष्टिकोणले जे भए पनि विवाहको दृष्टिकोणले भने बिस वर्ष उमेर पूरा नभएकोलाई बालबालिका नै मान्नु पर्दछ । नेपालको विभिन्न कानुनहरुमा सन्दर्भ अनुसार उमेरका अन्य पनि बन्देज वा सीमाहरु विभिन्न सन्दर्भमा राखिएको पाइन्छ । उमेर बन्देजको सीमा धेरै क्षेत्रहरुमा रहेको पाइन्छ । अन्य क्षेत्र क्षेत्रमा कानुनबाट तत्काल फाइदा लिन सकिने भएकोले अरुको पनि नजर हुन्छ र कानुनले धेरै हदसम्म पालना गरेर मात्र काम हुनुपर्ने तरिका अपनाएको हुन्छ । उदाहरणको लागि मतदान गर्ने समयभन्दा पहिले मतदाता नामावलीमा नाम समावेश हुनुपर्छ । मतदाता नामावलीमा उनैको नाम समावेश हुन्छ जो अठार वर्ष उमेर पूरा गरिसकेका छन् । उमेर पूरा गरिसकेको मानिसको मात्र मतदाता नामावलीमा समावेश भएपछि मात्र कोही मतदानको लागि योग्य हुन्छन् । मतदाता नामावलीमा नाम समावेश गर्ने अधिकारी निर्वाचन आयोगका हुन्छन् ।

अन्य क्षेत्रमा पनि यहीँ अवस्था रहेको छ तर विवाहको लागि भने फरक रीति रहेको छ । विवाह संस्कार र संस्कृतिसित जोडिएको पक्ष भएकोले यसमा कानुनले पहिले नै हस्तक्षेप गर्न सक्दैन । विवाह कानुनी प्रश्न पनि हो तर कानुनले विवाह गराउनेभन्दा विवाह गराउने काम समाज वा परिवारले नै गर्दछ । कानुनी विवाहलाई पनि मान्यता छ र यस प्रकारको विवाह हुँदा कानुनले तोकेको उमेर पूरा गरेको र कानुनका अन्य शर्तहरु पनि पूरा भएको हुनुपर्दछ । कानुनी विवाहभन्दा अरुमा विवाह हुनुभन्दा पहिले कानुनको हस्तक्षेप धेरै हदसम्म सम्भव भएको पाइँदैन । यसैको फाइदा समाजले उठाउने गरेको छ र समाजमा अहिलेसम्म पनि बालविवाह भइरहेको छ । बालविवाहप्रति समाज अझै पनि सकारात्मक रहेको छ । समाज सकारात्मक रहेकै कारण बालविवाह बढी देखिएको हो र निरन्तर भइरहेको छ । बालविवाहमा झन्डै धेरै पक्षको सहभागिता रहेको हुन्छ । कतिपय बालविवाहमा प्रहरीको हस्तक्षेप हुने गरेको छ । कतै बालविवाह भइरहेको छ भन्ने सूचना आधिकारिक रुपमा कसैले प्रहरीलाई दियो भने प्रहरीले बालविवाह रोकेको देखिएको पनि छ । यस्तो कदमलाई सकारात्मक रुपमा लिइनु पर्दछ तर बालविवाह मुख्य रुपमा दुलहा तथा दुलहीतर्फका अभिभावकले गराउने कुरो हो ।

यसमा दुवै पक्ष सचेत हुनै पर्ने हो । बालविवाहका लागि कतिपयले बाध्यता रहेको बताउँछन् । आमा बढी बिरामी परिरहनु वा अन्य कारणले कतिपयले घरमा बुहारी खोजेका हुन्छन् भने कतिपय अवस्थामा छोराको लागि दुलही नखोजी नहुने अवस्था हुन्छ । यसै गरी कतिपयले आफ्ना छोरीलाई विवाह गरिदिनु पर्ने हुन्छ । विवाह अलि छिटै गरेर आफ्नो अभिभारा उतारेको भन्ने मनोविज्ञान अझै पनि कतिपयमा रहेको छ । कतिपयले यो पनि विचार गर्दछन् कि यस्तो वर वा वधू केही दिनपछि पाइन्छ कि पाइन्न ? यसै गरी जुन घरपरिवारबाट प्रस्ताव आएको छ, त्यस्तो घरपरिवारलाई आफन्त बनाउनु पनि ठूलो उपलब्धि हुन्छ । अझ कतिपयले त उमेर पूरा नभइसकेको दुलहा वा दुलहीको विवाह यस कारण गर्न पुग्दछन् कि अपेक्षाभन्दा बढी तिलक दिइरहेका छन् वा अपेक्षाभन्दा निकै कम खर्चमा छोरीको विवाह भइरहेको छ । यसरी अनेक कारणले अहिलेसम्म पनि समाजमा बालविवाहप्रति समाज अपेक्षाकृत सचेत हुन सकेको छैन । कानुनको जानकारी छैन भन्ने होइन । कानुनको बारेमा धेरैलाई थाहा छ । कानुन मात्र होइन, अब धेरैले यो पनि बुझेका छन् भने बालविवाह गरेर बालबालिकाको जीवनमा खासै प्रगति हुँदैन । घरमा पत्नी आएपछि पत्नीको रेखदेख गर्नुपर्ने र पत्नीका समस्याहरु सुल्झाउने जिम्मेवारी काँधमा आएपछि पढाइको काम गर्न मुस्किल हुन्छ । पत्नीको आवश्यकता र आफ्नो अनुकूल पत्नीलाई विभिन्न सामानहरु पु¥याउन कलिलो उमेरदेखि नै अर्थोपार्जन गर्नुपर्ने हुन्छ ।

अर्थोपार्जन गर्न उसले पढाइ बन्द गर्नुपर्ने हुन्छ । यहाँनेर बालविवाह सबैभन्दा बढी शिक्षार्जनमा घातक हुने देखिन्छ । जसले शिक्षा प्राप्त गर्न सकेको हुँदैन, उसले जीवनमा धेरै प्रगति गर्न गाह्रो हुन्छ आजको युगमा । बालविवाह भएको अवस्थामा यदि अर्थ आर्जनको चिन्ता नरहेको परिवार छ भने त जीवन गुणस्तरीय हुन सक्ला तर मुख्य गरी विपन्न समुदाय तथा मध्यम वर्गसमेतलाई गुणस्तरीय जीवनको लागि अप्ठ्यारो हुने अवस्था सिर्जना हुन पुग्छ । कम उमेरमा बालविवाह गरेपछि अपेक्षाकृत कम उमेरमै सन्तानको जन्म हुन थाल्दछ । अशिक्षाले भरिएको वा चेतनाको अभावले गर्दा दुईभन्दा बढी सन्तान जन्माउने प्रवृत्ति अद्यपर्यन्त छ अर्थात् सन्तान धेरैवटा भइदिन्छन् । धेरै सन्तानलाई पालनपोषणमा धेरै व्यय गर्नुपर्ने हुन्छ । पालनपोषण गर्न धेरै खर्च र समय लाग्ने हुनाले आर्थिक उन्नति हुन पाउँदैन । यसरी गुणस्तरीय जीवन आकाशको फल आँखा तरी मर भन्ने उखानजस्तै हुन पुग्ने हुन्छ । सबै दृष्टिकोणले हेर्दा बालविवाहलाई उपयुक्त मान्न सकिँदैन । बालविवाहलाई अनुपयुक्त मान्न सकिने देख्दादेख्दै पनि यो रोकिएको छैन । यो नरोकिनुका पछाडि अन्य कारणहरु पनि जिम्मेवार छन् । ती कारणहरु समाजका सबै वर्ग र उमेर तथा पेसाका मानिसलाई थाहा छ । बालविवाहमा सहभागी हुनेजति सबैलाई विचार गर्ने हो भने को सहभागी भएका हुँदैनन् त ? सबै क्षेत्रका कर्मचारी, शिक्षित, सञ्चारकर्मी र यहाँसम्म कि जनप्रतिनिधिहरु पनि बालविवाहमा सहभागी भएका हुन्छन् ।

वास्तवमा बालविवाह भएको हो भन्ने जान्ने र यो कानुन विपरीत छ तथा चाहेमा यसलाई रोक्न सकिन्छ भन्ने कुरा जान्ने र बुझ्नेहरु पनि यस्ता विवाहमा सहभागी हुने गर्दछन् । बालविवाह सहर बजारको तुलनामा ग्रामीण क्षेत्रमा अत्यधिक हुने गरेको छ । सहर बजारमा हुँैदै नहुने होइन, निक्कै कम हुन्छ तर हुन्छ । ग्रामीण समुदायमा बालविवाह बढी मात्रामा हुने गर्दछ । ग्रामीण समुदायमा हुने सबै विवाह चाहिँ बालविवाह नै हुन्छ भन्ने होइन । सहरमा पनि विपन्न तथा पछाडि परेका जाति वा समुदाय वा वर्गमा बालविवाह प्रचलनमा रहेको छ भने ग्रामीण क्षेत्रमा पनि शिक्षित समुदायको परिवारमा बालविवाह करिब करिब रोकिएको छ । यसको अर्थ यो पनि हो कि पहिलेको तुलनामा बालविवाहमा केही कमी आएको अवश्य हो तर अपेक्षाकृत अझै कमी आउन सकेको छैन । बालविवाह समाज र अर्थतन्त्र तथा चेतना र भविष्य सबै दृष्टिकोणले अनुपयुक्त हुँदाहुँदै पनि भइरहेको छ । कानुनले बालविवाहलाई रोकेको छ । उमेर पूरा भइनसकेको विवाहलाई दर्ता गरिरहेको छैन । अझ विवाह दर्ता नभइकनै कपितय दम्पत्तिको सन्तान पनि जन्मिइरहेको छ । सन्तान जन्मिइसकेको तर विवाह दर्ता नभएको परिवारमा ती बालबालिकाको उमेर र अन्य कागजातमा मेल नखाने किसिमले लेख्नु पर्ने समस्या आइरहेको छ । जन्मेको तीन चार वर्षपछिको तिथिमिति राखेर जन्म दर्ता प्रमाणपत्रमा नाम र जन्म मिति लेखाउनु पर्ने अवस्था आउन सक्छ जसले गर्दा त्यस्ता बालबालिकाको शिक्षादीक्षा र पछि जीवन वृत्तिका अन्य क्षेत्रमा पनि समस्या आउने देखिन्छ वा कतिपयले यस प्रकारको समस्या भोगिरहेका छन् पनि ।

जो बालबालिका निर्दोष छन्, उसले पनि अनावश्यक समस्या यसकारण भोग्नु परेको छ कि उनका मातापिताको विवाह कम उमेरमै भएको थियो । यसर्थ बालविवाहले बालविवाहका दुवै पात्र पुरुष र महिला तथा तिनका आउँदा सन्तानलाई समेत समस्यामा पार्ने देखिएकोले बालविवाहलाई रोक्नै पर्ने देखिएको छ । तर फेरि पनि उही प्रश्न उठ्दछ किन रोकिएन बालविवाह ? बालविवाह रोक्न सम्बन्धित पक्ष सक्रिय हुनु नै पर्दछ ।

Comment


Related News

Latest News

Trending News