अपडेट 
२०७७ फाल्गुन १५, शनिबार ०७:५६

सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन् । उनका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोही बमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो । यता, नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।

संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुर्नस्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् ।नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएका थिए भने पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News