अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०८:५५

प्रमोद कुमार साह
जनकपुरधाम ।
जनकपुर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । दोस्रो संस्करण भनिएको महोत्सवमा जनकपुरधामका साहित्यकारहरु देखा परेनन् । जनकपुरधामका साहित्यकारहरुलाई महोत्सवका आयोजकहरुले आमन्त्रण नै नगरेपछि उनीहरु देखिएनन् ।

जानकी मन्दिर प्राङ्गनमा भएको साहित्य महोत्सवले मिथिला संस्कृति र संस्कारलाई बिर्सिएको अनुभूति गराएको छ । महोत्सवमा स्थानीय साहित्यकारलाई सहभागी नगराएकोप्रति मैथिली साहित्यकार सभा जनकपुरले रोष प्रकट गरेको छ । जनकपुरधामका चर्चित साहित्यकारलाई आमन्त्रण समेत नगरेको प्रति साहित्यकार सभाले आयोजकप्रति असन्तुष्टि व्यक्त गरेको हो । साहित्यकार सभाका सभापाल प्रेम विदेहले शनिबार एक विज्ञप्ति जारी गरेर जनकपुर साहित्य महोत्सवमा स्थानीय साहित्यकारलाई आमन्त्रण समेत नगरेकोप्रति असन्तुष्टि जनाएका छन् । महोत्सवको उद्घाटन गएको बुधबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । उद्घाटन सत्रमा मुख्यमन्त्री लालबाबु राउत, सांसद विनोद चौधरी लगायतका थिए ।

नवमिथिला फाउन्डेसनको आयोजनामा भएको साहित्य महोत्सवमा १५ वटा सत्रमा ४५ जना वक्ता सहभागी भएका थिए । महोत्सवको औपचारिक सत्र ‘जानकी मन्थन’ शीर्षकबाट सुरु भएकोमा सो सत्रमा सन्तोषजनक रुपमा मिथिलाका साहित्यकारहरुलाई स्थान दिइएपनि जनकपुरका चर्चित साहित्यकारहरुलाई छुटाएको थियो । सो कार्यक्रममा कांग्रेसका नेता प्रदीप गिरी, राजनीतिक विश्लेषक सीके लाल, मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, भारतीय साहित्यकार डा. आशा प्रभाले आ–आफ्नो विचार राखेका थिए । महोत्सवको चार दिवसीय विभिन्न शीर्षक अन्तर्गत ‘साहित्यको सीमाञ्चल’ सत्रमा भारतका मनोज कुमार सिंह, राजा पुनियानी, धनगढीका साहित्यकार रामलाल जोशी र जनकपुरधामका साहित्यकार अशोक दत्तको सहभागिता रहेको थियो भने सो सत्रको सहजकर्ताको भूमिका सञ्चारकर्मी एवं साहित्यकार चन्द्रकिशोरले गरेका थिए । ‘किताब ः वर्णदेखि वस्तुसम्म’ भन्ने सत्रमा जनकपुरधामका एउटा पनि साहित्यकारलाई सहभागी गराइएन । हुनतः कार्यक्रम आयोजकको नजरमा जनकपुरधाममा पत्रकारको पनि अभाव रहेको देखिएको छ ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसंग कुराकानी गर्नका लागि काठमाण्डुबाट पत्रकार मगाइएको थियो ।‘राजनीतिको राग कहाँदेखि कहाँसम्म’ सत्रमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग पत्रकार सुधीर शर्माले कुराकानी गर्ने भनेर आयोजकले तयारी गरेको थियो । महोत्सवको तेस्रो दिन ‘मैथिली मिठास’ सत्रमा मैथिलीको मिठास दिन परमेश्वर कापडीसंग मैथिली भाषासंग सरोकार समेत नरहेका कुलप्रसाद कोइरालालाई सहभागी गराइएको थियो । त्यसैगरि ‘भविष्यको राजनीति र राजनीतिको भविष्य’ ‘स्वतन्त्र समाज र विचारहरू’ लगायतको कार्यक्रमहरु विशुद्ध राजनीतिक कार्यक्रमको झल्को दिने खालको रहेको थियो । ‘सिनेमाको रङ’ सत्रमा मैथिली अभिनेताहरुलाई छुटाएर चलचित्र अभिनेता राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अनुप बराल लगायतका कलाकार सहभागी गराइएको थियो ।

चार दिनको कार्यक्रममा मिथिलाको कला क्षेत्रसंग सरोकार राख्ने संस्थाहरुलाई सहभागी समेत गराइएन । काठमाण्डुबाट कार्यक्रमलाई सारेर जनकपुरधाम ल्याइएपनि आयोजकले आफु अनुकुल कार्यक्रम तालिका तयार पारेर आयोजना गरेको छ ।

Comment


Related News

Latest News

Trending News