अपडेट 
२०७७ फाल्गुन २४, सोमबार ०७:५३

आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ ।अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ । क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेकोले पनि यसलाई श्रमिक महिलाको दिवसका रुपमा लिनु पर्ने तर्क अभियन्ताहरुको छ ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् ।

१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरिन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीलाई बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गरेकी छन् । संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गरेकी छन् ।

Comment


Related News

Latest News

Trending News