अपडेट 
२०७७ फाल्गुन २५, मंगलवार ०८:०६

संसदमा चौथो स्थानमा रहेको प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)को पहिलो संयुक्त संसदीय दलको बैठक मंगलवार पहिलो पटक बस्न लागेको छ । गत वर्षको वैशाख १० गते तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी एकिकृत भएर जनता समाजवादी पार्टी बनेपनि संसदीय दल समायोजन हुन सकेको छैन् ।प्रतिनिधि सभामा राजपा र समाजवादी पार्टी संसदीय दलकोनेता क्रमश : महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।

पार्टी स्रोतका अनुसार बैठकमा संसदीय दलको नेता चयन सम्बन्धमा पनि कुरा उठने संभावना छ ।पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको सांसद रामसहाय यादवले बताए । ‘प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपा विभाजित भएको अवस्थामा जसपाको भूमिकाबारे छलफल हुनेछ ’ उनले भने, संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाइएकोछ । प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउन जसपालाई विभाजन गर्न सक्ने चर्चा चलिरहेको बेला बस्न लागेको संसदीय दलको बैठकलाई महत्वपूर्ण मानिएकोछ ।तर बैठक कसको अध्यक्षतामा बस्ने टुंगो भने लागिसकेको छैन् । ‘समग्रमा राष्ट्रिय राजनीतिबारे छलफल हुन्छ’ यादवले भने, त्यसमा सरकार गठन पनि पर्छ । जसपाको समर्थनमा ओली सरकार टिक्न सक्ने संभावना छ ।नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेरपनि सरकार बनाउन सक्ने संभावना छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै आन्दोलनमा गएको र पुनःस्थापना भएपछि त्यसका बारेमा अब दृष्टिकोण पनि दलको बैठकले तय गर्ने उनले बताए । संसद पुनस्र्थापनाको माग लिएर सडकमा उत्रेको जसपाले आन्दोलनमा सहकार्य भएका दलहरुसित सरकार बनाउने विषयमापनि छलफल गरिने यादवको कथन थियो ।हालको परिस्थितिमा संसदबाट नै सरकार बनाउने नयाँ गठबन्धनको संभावना रहेकाले जसपा आफ्नो दृष्टिकोण प्रष्ट गर्ने उनले बताए । नयाँ गठबन्धन बन्न सक्ने अवस्था बनेकाले त्यस सम्बन्धमा पनि दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका छन् । जसपामा आन्तरिक विवादपनि चर्किएकाले संसदीय दलको नेता चयनमा समस्या आउने देखिएकोछ ।पार्टी भित्र हाल अध्यक्ष उपेन्द्र यादव एक्लिएका छन् ।पूर्व राजपाका नेताहरुले यादव पार्टीमा हैकम चलाउन खोजेको आरोप लगाउँदै सार्वजनिक रुपमा नै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News