अपडेट 
२०७७ फाल्गुन २७, बिहीबार ०६:५६

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य हुन नसक्ने बताएका छन् ।

वर्तमान सरकारलाई जसपाले समर्थन दिने कुरा आइरहेका बेला अध्यक्ष यादवले त्यस्तो सम्भावना नरहेको बताएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा यादवले सरकारबाट ओलीलाई हटाउने पार्टीको मूल ध्येय रहेको बताए । ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दाहरूलाई समर्थन गर्दछ, संविधान संशोधनलाई अगाडि बढाउँछ ती शक्तिहरूसँग सहकार्य गर्ने हो,’ यादवले भने, ’त्यो शक्ति भनेको नेकपा (एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक, टेष्ट गरेर व्यवहारमा हेरिसकेका छौं ।’ जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सांसद रेशम चौधरीलगायतमाथि लगाइएका मुद्दा फिर्ता, मधेश÷थारुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका सवालहरू केपी ओली समक्ष पटक–पटक राखिएको भएपनि ओलीले ठग्ने बाहेक केही काम नगरेको बताए ।

आफ्ना माग जसले पुरा गर्छ, उसैलाई समर्थन गर्ने नेता महतोले बताए । ‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरी गर्ने ? त्यसैको लागि जन्मिया हामी ? यी शासक, सम्भ्रान्तहरूलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी ? मागहरू पुरा गरे हुन्छ, नत्र हुँदैन ’ उनले भने । प्रधानमन्त्री ओलीले मधेसका मागहरूलाई विगतमा इन्कार गर्दै आएको महतोको भनाइ थियो । जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्ना मागहरू सरकारसँग राखिएको बताएका छन् । विगतकसरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि माग पूरा गर्न आग्रह गरिएको उनको भनाइ थियो । नेकपा(एमाले) सँग सत्ता समीकरण बारे छलफल गर्न कार्यदल नबनेको कर्णको भनाइ थियो ।

सत्ता समिकरणबारे जसपाले अहिले कुनै पक्षलाई पनि समर्थन गरिनसकेको जसपाका नेताहरूले बताएका थिए । आफूहरूले विगतदेखि उठाउँदै आएका मुद्दा जसले सम्बोधन गर्छ र जोसँग एजेन्डा मिल्छ उनीहरूलाई नै समर्थन गर्नेबारे सोच्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि सरकार संकटमा परेको छ ।

Comment


Related News

Latest News

Trending News