अपडेट 
२०७७ फाल्गुन २९, शनिबार १५:५९

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जनता समाजवादी पार्टी नेपाललाई आग्रह गरेका छन् ।

प्रेस संगठन सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले प्रधानमन्त्री ओलीले विगतमा पनि धेरैलाई ठगेको स्मरण सुनाउँदै यस पल्ट पनि ठग्ने निश्चित भएकाले त्यसबाट सजग रहन र सहकार्य नगर्न आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिंदै प्रचण्डलाई समेत दुई पटक ठगेको भन्दै यस्तो अवस्थामा जसपालाई पनि प्रधानमन्त्रीले ठग्ने अवस्था देखिएको जिकिर गरे । उनले काँग्रेससँग जसपाको सकारात्मक वार्ता भएको भन्दै काँग्रेसले जसपासँग सरकार बनाउने कार्यमा सहमत भएमा माओवादी केन्द्रले पनि साथ दिने उल्लेख गरे ।

जसपालाई अग्रगमनको साथ दिन आग्रह गर्दै प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको उनको भनाई थियो । नेता यादवले जसपाले राख्दै आएको रेशम चौधरी रिहाइको माग र संविधान संशोधनको कामलाई अगाडि बढाइने बताउँदै सरकार बनेपछि रेशम चौधरीको रिहाइ र संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिएकाले त्यसका लागि पनि प्रयास सुरु गरिने बताएका थिए ।

Comment


Related News

Latest News

Trending News