अपडेट 
२०७७ चैत्र १, आईतवार ०७:४२

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा शुक्रबार प्रदेश नम्ब २ अन्तर्गतका अन्य ७ जिल्लाका प्रहरी अधिकृतहरुले अवलोकन भ्रमण गरेका छन् ।

प्रदेश नम्बर २ अन्तर्गत पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लास्थित मुद्दा सम्बन्धी कामकार्बाही गर्ने ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुखहरुको संयुक्त अवलोकन भएको हो । अपराध अनुसन्धानको क्षेत्रमा अपराध अनुसन्धान शाखाको अभिलेख व्यवस्थापन लगायत अनुसन्धान तथा काम कारबाहीमा प्रदेश भरीमै नमूना देखिएकाले अन्य ७ वटै जिल्लाका मुद्दा फाँट हेर्ने प्रहरी अधिकृतहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण शाखाहरुको अवलोकन तथा भ्रमण गरेको जिप्रका सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दहालको नेतृत्वमा ७ वटै जिल्लाका प्रहरी अधिकृतहरुले शुक्रबार अपरान्ह मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा अवलोकन भ्रमण गरेका हुन् ।

व्यवहारीक रुपमा कार्यक्षेत्रमा नै लगि व्यवसायिकता अभिवृद्धि गराई समग्र प्रहरी कार्य सम्पादनलाई उत्कृष्ट बनाउन प्रहरी कार्यालयद्वारा सम्पादित नमूना कार्यहरुलाई देखाइ व्यवहारिक रुपमा सिकाइएको यो कार्यक्रमले नेपाल प्रहरी संगठनको आन्तरिक सिकाइलाई नवीनता प्रदान गरेको सहभागिहरुले बताए । साथै सो कार्यक्रमले नेपाल प्रहरी संगठनको मेरुदण्डको रुपमा रहेको अपराध अनुसन्धानलाई वैज्ञानिक, परिणाममुखी एवं वस्तुनिष्ठ बनाई न्यायिक माध्यमबाट कानूनी राज्य स्थापनामा टेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यस्तैअपराध नियन्त्रणको सम्बन्धमा Proactive policing को लागि ‘समुदाय प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत सर्लाही सदरमुकाम मलंगवा स्थित विभिन्न ४ वटा विद्यालयका विद्यार्थी, शिक्षक, सामुदायीक प्रहरी सेवा केन्द्र सर्लाहीका पदाधिकारीहरु, वुद्धिजिवी, भद्रभलादमि सहित अवलोकन भ्रमणमा आएका अन्य ७ वटै जिल्लाका सम्पुर्ण प्रहरी अधिकृतहरुको सहभागितामा साईबर अपराध, वाल विवाह, लागूऔषध, लैङ्गिक हिंसाका विषयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम समेत गरिएको छ ।

सदरमुकाम मलंगवामा शुक्रबार दिउँसो आयोजित कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दहालको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख सन्तोष सिंह राठौरले कार्यक्रमको उद्धेश्यबारे प्रष्ट्याएका थिए ।

Comment


Related News

Latest News

Trending News