अपडेट 
२०७७ चैत्र ७, शनिबार ०७:४८

जलेश्वर । फरक धार्मिक आस्था र परम्पराका जाति समुदायबाट आफ्नो परम्पराले वास्ता पाउँदा मन प्रफुल्लित हुने मानव स्वभाव मिथिला माध्यमिकी परिक्रमामा मुखरित भएको छ ।

मिथिला माध्यमिकी परिक्रमाका यात्री आज यात्राको सातौँ दिन महोत्तरीको ध्रुवकुण्ड आइपुग्दा उनीहरूमा यो प्रफुल्लता देखिएको हो । इस्लाम धर्मावलम्बीबाट विनम्रतापूर्वकको वास्ता र स्वागतले यात्री गद्गद् भएका छन् । यात्राको सातौँ दिन बलवा नगरपालिका–१० धमौरास्थित ध्रुवकुण्डमा स्थानीय इस्लाम धर्मावलम्बीको न्यानो स्नेह, वास्ता र स्वागतले यात्रीमा खुशी थपिएको हो । ध्रुवकुण्ड माध्यमिकी परिक्रमा परम्परामा सातौँ दिनको रात्रि विश्रामस्थल रहँदै आएको छ । यात्रीको आज एकाबिहानैदेखि ध्रुवकुण्ड आइपुग्ने क्रम शुरु भएको छ । जिल्लामा इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेमध्ये धमौरा एक मानिन्छ । यहीँ नै हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ । अघि सत्ययुगमा राजकुमार ध्रुव (पछि राजा)ले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदैआउनु गौरवको कुरा भएको इस्लाम धर्मावलम्बी बताउँछन् । “आउ, ध्रुवकुण्डमें अहाँके हार्दिक स्वागत अई”, (आउनुहोस्, ध्रुवकुण्डमा तपाईँलाई हार्दिक स्वागत छ) आज बिहान छैटौँ दिनको विश्रामस्थल मडैबाट ध्रुवकुण्डआइपुगेका यात्रीलाई स्थानीय इस्लाम धर्मावलम्बीको समूहले स्वागत गर्दै भनेका छन् । यो धार्मिक सद्भाव र सहिष्णुताको अब्बल उदाहरण भएको धमौराकै बासिन्दा हिन्दू धर्मावलम्बी ७५ वर्षीय वासुदेव पासवान बताउनुहुन्छ । आफ्नो बस्तीमा आएका यात्रीलाई इस्लाम धर्मावलम्बीले यात्रामा परेको साह्रोगाह्रो भन्न र आफ्नालायक सेवाका लागि आग्रह गरेका छन् ।

“तपार्इँहरू मानव कल्याणको कामनासाथ लामो यात्रामा हुनुहुन्छ, केहीपर्दा हामीलाई सेवाको अवसर दिनुहोस्”, धमौराका बासिन्दा ७५ वर्षीय इस्लाम धर्मावलम्बी हासिम मियाँले दुई हात जोडेर विनम्रतापूर्वक आग्रह गर्दा यात्रीका आँखा रसाएका देखिन्थे । धमौरा हिन्दू परम्पराको मात्र नभएर इस्लाम परम्पराका लागि पनि पवित्रस्थल रहेको छ । “यहीँ (धमौरा) हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल ध्रुवकुण्ड छ, यहीँ नै केही दूरी पर इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबार रहमतअलीबाबाको पवित्र मजार (समाधीस्थल) छ”, धमौराका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता मन्सुल कवारी भन्नुहुन्छ, “हिन्दूहरू मजारस्थलमा श्रद्धा जनाउँदै आशिष माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।” मजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले हिन्दू र मुसलमान दुवैको उत्तिकै चासोमा पर्ने मन्सुलको भनाइ छ । मजारमा आएर भक्तिभावसहित आफ्नो दुःख पुकार गर्ने, भाकल गर्ने र पछि भाकल दिन आउनेमा हिन्दूको सङ्ख्या उल्लेख्य हुने मन्सुल बताउनुहुन्छ ।

“मिथिला माध्यमिकी परिक्रमा हाम्रो ठाउँ चिनाउने खास अवसर हो”, धमौराको अधियानपुरका बासिन्दा इस्लाम धर्मावलम्बी सामाजिक अगुवा अमानुल्ला शेषले यात्रीको स्वागत गर्दै भन्नुभयो, “माध्यमिकी परिक्रमाको यो अवसरलाई आफ् नो ठाउँको विकासमा प्रयोग गर्न जान्नु पर्दछ, यसका लागि यात्रीको सुरक्षा, खानपान, आवास र उपचार व्यवस्था हाम्रा लागि खास महत्व र जिम्मेवारीका कुरा हुन् ।” रासस

Comment


Related News

Latest News

Trending News