अपडेट 
२०७७ चैत्र ७, शनिबार ०७:५४

राजविराज । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मुलुकको वर्तमान अन्यौलपूर्ण राजनीतिक परि स्थितिमा काँग्रेसले सरकारको नेतृत्व लिएर मुलुकलाई निकास दिने बेला आइसकेको बताएका छन् ।

सप्तरीको राजविराजमा शुक्रबार नेपाल शिक्षक संघको २१औं र २२औं जिल्ला प्रतिनिधिसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई रहिरहन नैतिकताको हिसाबले पनि उचित नहुने भन्दै यो सरकार रहँदासम्म राजनीति अन्यौल अझै बढ्ने उनको दाबी छ । परिस्थितिले काँग्रेसलाइ सरकारको नेतृत्व लिनुपर्ने बेला आएको भएपनि कामै गर्न नसक्ने गरि हात खुट्टा बाँधेर सरकारमा जानु चाही उचित नहुने उनको सुझाव छ । नेता महतले नेतृत्वमा जाँदा काँग्रेसलाई काम गर्न सक्ने गरि सहज वातावरण निर्माणको जिम्मेवारी नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका पनि रहेको जिकिर गरे । उनले भने, सम्मानजनक अवस्थामा काँग्रेस सरकारको नेतृत्व लिन तयार छ तर, यसका लागि माओवादी र जसपाले पनि उचित वातावरण बनाउन जरुरी छ ।

नेता महतले केपी ओली नेतृत्वको सरकार जति चाँडो ढल्छ, राजनीतिक निकास निस्कने सम्भावना उत्तिकै प्रवल हुने आफूहरुको धारणा रहेको बताए । नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित सभामा विभा झाले आर्थिक तथा विश्वनाथ भदेसवार यादवले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश यादव, ट्रेड युनियनका अध्यक्ष मनोज मण्डल लगायतले शुभकामना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News