अपडेट 
२०७७ चैत्र १०, मंगलवार १४:१२

कैलालीको लम्कीमा गोली चलेको छ ।

बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयवासीले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । सो क्रममा प्रहरीको गोली लागेर दुई जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेमा लम्कीचुहा नगरपालिका १ का १८ वर्षीय दीपक सन्ज्याल र २५ वर्षीया कृष्ण काफ्ले रहेका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको बताए । उनले घाइते दुबै जनालाई कोहलपुर मेडिकल कलेज पठाइएको पनि जानकारी दिए । यस्तै झडपका क्रममा केही प्रहरी समेत घाइते भएको बताइएको छ । मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । घटनालगत्तै स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए । अहिले स्थिति नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News