अपडेट 
२०७७ चैत्र १२, बिहीबार १७:२९

सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन बिहिबार सम्पन्न दुईवटा खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले जित दर्ता गरेका छन्। 

राज रंगशालामामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गर्यो। टिभीएस किंग्सले दिएको १६२ रनको लक्ष्य रुपनीले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै अमित यादवले ३१ बलमा ५ चौका र २ छक्का मद्दतले ४५ रन तथा लोकेश बमले १२ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाए। निरज मुखियाले २३ रन बनाए। टिभीएस किंग्सको बलिंगमा रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले समान १ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग रोजेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो।

टिभीएस किंग्सको लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४५ रन योगदान दिए जुन क्रममा ४० बलमा ८ चौका प्रहार गरे। सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३ रन, आसिफ शेखले १६ रन तथा रोबिन सिंह र सुदर्शन सिंहले समान १२ रन बनाए। रुपनी राईडर्सको बलिंगमा लोकेश बमले सर्वाधिक २ विकेट लिए। यस्तै फिर्दोश अन्सारी, सुनिल धमला, सुमित झा, अनिल यादव र अनुज कुमार यादवले समान १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम चुनिए। दिनको दोश्रो खेलमा बोदे बर्साईन थन्डर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्ट लाई १०१ रनले पराजित गर्यो। 

बोदे बर्साईनले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीले १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो।  तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक २७ रन, दिपेश कंडेलले १९ रन तथा चित्र बहादुर बिस्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।  बोदे बर्साईनका बलर बिशाल सुश्लिंगले सर्वाधिक ४ विकेट, सिद्धान्त लोहनीले ३ विकेट, बसन्त रेग्मीले २ विकेट तथा नारायण जोशीले १ विकेट लिए।  यस अघि टस जितेर ब्याटिंग गरेको बोदे बर्साईन् थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो।  बोदे बर्साईनका कप्तान सिद्धान्त लोहनिले शतक बनाउने क्रममा ४९ बलमा १२ चौका र ६ छक्का प्रहार गर्दै अविजित १०० रन बनाए। यस्तै नारायण जोशीले १९ रन, राहुल मण्डलले १७ रन, योगेन्द्र सिंह कार्कीले १५ रन तथा बिशाल सुश्लिंगले १४ रन योगदान दिए। तिलाठी कोईलाडीको बलिंगमा आदील अन्सारी र चित्र बहादुर बिस्टले समान २ विकेट लिए। यस्तै राशिद खान र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।

पाँचौ दिनको खेल समाप्ति पछि लिग अंकतालिकामा रुपनी राईडर्स ४ खेलमा ३ जित पछि ६ अंक बटुल्दै पहिलो स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। ३ खेल खेलेको बजाज खडक वारियर्स र ४ खेल खेलेको तिलाठी कोईलाडी जायन्टसको समान ४ अंक रहेता पनि नेट रन रेटमा वारियर्स दोश्रो र जायन्टस तेश्रो स्थानमा रहेको छ। समान २ अंक रहेका बोदे बर्साईन थन्डर्स चौथो र टिभीएस किंग्स राजविराज पाँचौ स्थानमा छ। प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा शुक्रबार बजाज खडक वारियर्स र टिभीएस किंग्स राजविराज बीच खेलिनेछ। वारियर्सले जित दर्ता गरेको खण्डमा फाइनलमा स्थान सुनिस्चित गर्नेछ भने पराजित भएको खण्डमा पनि नेट रन रेटमा फाइनल पुग्ने सम्भावना प्रवल रहेको छ। टिभीएस किंग्स विजयी भएको खण्डमा बजाज खडक वारीयर्स, तिलाठी कोईलाडी र टिभीएस किंग्स राजविराज मध्ये नेट रन रेटमा अघि हुने टिम फाइनलमा पुग्नेछ।  

Comment


Related News

Latest News

Trending News