अपडेट 
२०७७ चैत्र १५, आईतवार १५:२७

भारतीय प्रधानमन्त्री नरेन्द्रको मोदीको बंगलादेश भ्रमणमा नेपाल, भारत र बंगलादेशबीचको बीबीआईएन मोटर सम्झौतालाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।

मोदीको भ्रमणपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा तीन देशबीचमा मोटर सेवा सञ्चालनका लागि आवश्यक समझदारी पत्रलाई छिटो टुंगोमा पुर्‍याउने सहमति भएको हो । भुटानसहित चार मुलुकबीच सन् २०१५ मा दक्षिण एसियाली सहयोग संगठन (सार्क) उपक्षेत्रीय सहकार्य अन्तर्गत बीबीआईएन सम्झौता भएको थियो । तर, भुटानले सो सम्झौतालाई त्यहाँको संसदबाट अनुमोदन गराउन नसकेका कारण चार देशबीचमा मोटर सेवा सञ्चालनका लागि ढिलाइ भएको छ । सम्झौतामा भुटान तत्काल सहभागी नहुने भएपछि नेपाल, बंगलादेश र भारतबीचमा सकेसम्म सो सम्झौता कार्यान्वयन गर्ने विषयमा कुराकानी भइरहेको छ । बस सञ्चालनका लागि आवश्यक पर्ने विस्तृत प्रावधानको लागि समझदारी पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । जसको मस्यौदा तयार भइसकेको छ, र भुटानविना नै यसमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाबीच यसलाई सकेसम्म छिटो टुंगोमा पुर्‍याउने सहमति भएको छ । यसअघि नै नेपाल, भारत र बंगलादेशबीचमा एक परीक्षण मोटर सञ्चालन भइसकेको छ । दुई नेताको बीचमा सार्क र बिमस्टेकलाई अगाडि बढाउने विषयमा समेत सहमति भएको छ । विगत ६ वर्षदेखि सार्कको शिखर सम्मेलन हुन सकेको छैन । तर, शिखर सम्मेलन गर्ने विषयमा भने संयुक्त वक्तव्य मौन रहेको छ । अर्काे क्षेत्रीय संगठन विमस्टेकलाई अझ प्रभावकारी बनाउने विषयमा दुई नेताबीच सहमति भएको छ । भारतले पछिल्लो समयमा सार्कलाई भन्दा बीबीआईएन र बिमस्टेकलाई बढी जोड दिइरहेको छ । मोदी र हसिनाबीच नेपाल र भुटानसँग ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने सहमति समेत भएको छ । भारतले सीमापार उर्जा व्यापारका लागि आवश्यक नियामक निकाय र निर्देशिकालाई सकेसम्म छिटो अन्तिम रुप दिने सहमतिसमेत भएको छ ।

पछिल्लो समयमा भारतले नेपाली बिजुली बंगलादेशलाई बेच्नको लागि पारवहन सुविधा दिन तयार रहेको बताएको छ । केही दिन अगाडि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले भारतले यस क्षेत्रमा उर्जा हब निर्माण गर्न थालेको बताएका थिए । उर्जा सहकार्यका लागि भारत र बंगलादेशको बीचमा सिमापार प्रसारण लाइनका विभिन्न योजनाहरु अगाडि बढिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News