अपडेट 
२०७७ चैत्र १८, बुधबार ०६:५५

भारतीय सेनाले नेपाली सेनालाई उपहारस्वरुप कोभिड १९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ ।

दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप प्रदान गरेको छ । भारतले अघि बढाएको यो प्रयास दुई देशबीचको विशेष सम्बन्धको अर्को एक अनुपम उदाहरण हुनुका साथै यसले भारतले आफ्नो छिमेकी प्रति देखाएको सदाशयतालाई पनि पुष्टि गरेको छ ।’ भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गरेको जनाईएको छ ।

भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुकी ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् । जनरल नरवणे नेपाली सेनाका मानार्थ महारथी पनि हुन् । गत नोभेम्बरमा भएको नेपाल भ्रमणका क्रममा वहाँलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News