अपडेट 
२०७७ चैत्र २०, शुक्रबार ११:५१

ताइवानमा ३५० यात्री बोकेको रेल सुरुङभित्र दुर्घटनाग्रस्त भएको छ ।

ट्रकलाई ठक्कर दिएपछि भएको उक्त दुर्घटनामा ३६ जनाको मृत्यु भएको र ७२ जना घाइते भएको रोयटर्सले जानकारी दिएको छ ।  यसलाई पछिल्लो चार दशक यताकै भयानक दुर्घटना बताइएको छ । ताइवानको केन्द्रीय आपतकालीन सञ्चालन केन्द्रले सुरुङभित्र असाध्यै क्षतीग्रस्त अवस्थामा रहेको रेलसम्म पुग्न उद्दारकर्तालाई निकै  कठिन भइरहेको जानकारी दिएको छ ।स्थानीय यातायात मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले दुर्घटनामा ७२ जना घाइते भएको जानकारी दिएको छ । ‘दुर्घटना आज बिहान ह्वालियनको सुरुङभित्र भएको हो,’ ताइवानकी राष्ट्रपति साइ इंग–वेनले भनिन् । ‘बिरामी र घाइतेका लागि आपतकालीन व्यवस्था लागू गरिएको छ । हालका लागि रेलभित्र च्यापिएकाको उद्धार गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’ रोयटर्सले दमकल विभागलाई उद्धृत गर्दै सयजनालाई निकालिसकिएको जानकारी दिएको छ ।

यसअघि सन् २०१८ मा उत्तरपूर्वी ताइवानमा रेल दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । यस्तै उत्तरी ताइवानमा सन् १९८१ मा भएको रेल दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News