अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:१८

जनकपुरधाम । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) धनुषाले जिल्लाका सबै स्थानीय तहलाई आइसोलेसन वार्ड पुनः संचालनमा ल्याउन अनुरोध गरेको छ ।

डिसिसिएमसीको बैठकले आइसोलेसन वार्ड पुनः संचालनमा ल्याउन स्थानीय तहलाई अनुरोध गर्ने लगायतका विभिन्न पाँच बुंदे निर्णय गरेको छ । निर्णय अनुसार कोरोना संक्रमण फैलिन नदिन आवश्यक तयारीमा लाग्न सबै स्थानीय तहलाई जिल्ला स्वास्थ्य कार्यालयले पत्राचार गरेको छ । भारतबाट कोरोना संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकामा आवश्यक सतर्कता अपनाउने तयारी थालिएको छ । भारतबाट फर्किने व्यक्ति कोरोना संक्रमित भएको शंका लागेपछि अनिवार्य रुपमा एन्टिजेन परीक्षण गरिने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ । एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालयलाई बैठकले निर्देशन दिएको छ । यस्तै डिसिसिएमसीको बैठकले सरकारले खुल्ला गरेको इनरुवा र जटही नाका भएर भारतबाट फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क स्थापना गर्न जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक व्यवस्था मिलाउने र नेपाल आउन चाहने भारतीयहरुलाई सरकारले तोकेको कार्यविधी पूरा भए मात्र नेपाल प्रवेशको अनुमती दिने निर्णय गरेको छ ।

यस्तै बजारमा भीडभाड नगर्न, अत्यावश्यक काम नगरी घर बाहिर ननिस्कन तथा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न गराउन सार्वजनिक अनुरोध गर्ने, स्वास्थ्य कार्यालय र अन्य सम्बन्धित निकायले प्रचार प्रसारको व्यवस्था मिलाउने निर्णय पनि गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुनः कोभिड १९ को संक्रमण बढ्न थालेको परिप्रेक्ष्यमा यस जिल्लामा अर्को सूचना नआएसम्म ठूला जात्रा, पर्व, मेला र उत्सवहरु मनाउन निषेध गर्ने र सोको प्रभावकारी कार्यान्वयन गर्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । कोभिड१९ सम्बन्धी समग्र कार्यको प्रतिवेदन गर्न स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट अशोक कर्णलाई फोकल पर्सन तोकेको हो । गत वर्ष चैत महिनामा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछिलकडाउन गरिएको थियो । केही महिनादेखि संक्रमितको संख्या घट्दै गएपनि अघिल्लो समयमा कोरोना संक्रमण मुक्त घोषणा भइसकेको प्रदेश २ का जिल्लाहरुमा पनि संक्रमित भेट्न थालेको छ ।

Comment


Related News

Latest News

Trending News