अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ०६:२२

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ हंसपुरबेल्ही चौकमा नागरिक आरोग्य कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा क्लिनिक आयुर्वेद शाखा संचालनमा आएको छ ।

हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले एक कार्यक्रमका बीच बिहीबार उद्घाटन गरेपछि आयुर्वेद शाखा संचालनमा आएको हो । आयुर्वेद शाखाको उद्घाटन गर्दै मेयर मण्डलले नगरबासीको स्वास्थ्यको ख्याल गरेर आयुर्वेद शाखा संचालनमा ल्याएको बताए । अंग्रेजी औषधीले शरिरमा विभिन्न साइड इफेक्ट हुँदा स्वस्थ नागरिक पनि लामो समयसम्म बिरामी हुने गरेको अवस्थामा आयुर्वेद प्रभावकारी हुने विश्वास नगर प्रमुख मण्डलले व्यक्त गरे । आयुर्वेदिक औषधीले नागरिकलाई स्वस्थ हुन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेकोले यसबाट वडाबासी लाभान्वित हुने उनले दावी गरे । नागरिक स्वस्थ भए मात्र नगरको विकास हुने धारणा मेयर मण्डलको थियो । आयुर्वेद शाखाले नसर्ने रोगहरु उच्च रत्तचाप, मधुमेह, जोर्नीहरु दुख्ने, दम, मानसिक रोग आदिको समान्य उपचार तथा स्वस्थ जीवनशैली सम्बन्धी जानकारी गराउने, योग सम्बन्धी जानकारी गराउने, स्तनपायी आमा(प्रसुती), ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा, स्थानीय जडीबुटी सम्बन्ध जानकारी दिने भएको छ ।

आयुर्वेद शाखाले प्रत्येक महिनाको दोश्रो र चौथो बिहीबार सेवा प्रदान गर्ने भएको छ । सोनिगामास्थित आयुर्वेद अस्पतालको शाखा हंसपुरबेल्ही चौकमा संचालन गरिएको हो । यसअघि तीन दिने योग शिविर समेत संचालन गरिएको थियो । उद्घाटन कार्यक्रममा वडा न. ३ का वडाध्यक्ष उदय सिंह, वडा नं. ५ का वडाध्यक्ष शिवशंकर साह, नेपाली काँग्रेस धनुषाका पूर्व सचिव राजकिशोर सिंह, आयुर्वेद शाखा प्रमुख रामछविला यादव, जसपाका युवा नेताहरु सुजित कापर, विद्यार्थी नेता सुधिर मण्डल लगायत स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News