अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ०८:५६

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक बस्दै छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक दिउँसो ३ बजे बस्न लागेको सभापति देउवाको सचिवालयले जनाएको छ । यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको हो । आजको बैठक नयाँ सरकार गठनमा केन्द्रीत हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलेदेखि नै भन्दै आएको छ । यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थतसमेत फिर्ता नलिँदा दलहरु निर्णयमा पुग्न सकिरहेका छैनन् । सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले माओवादी केन्द्रको भूमिका दोहोरो देखिएको जसपा र कांग्रेसका नेताहरुले बताइरहेका छन् ।

माओवादी केन्द्रले पनि जसपा र कांग्रेसको कारण नयाँ सरकार बन्न ढिलाइ भइरहेको बताइरहेको छ । जसपामा सरकारमा जानेबारे दुई धार देखिएकाले पनि समस्या देखिएको माओवादी र कांग्रेसका नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दिनदेखि नै तीन वटै दलले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गरेका थिए । सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएको साढे १ महिना बितिसक्दासमेत सत्ता गठबन्धनको अङ्कगणित नमिल्दा तीन दलले नयाँ सत्ता गठबन्धन बनाउन सकिरहेका छैनन् । सत्तारुढ पार्टी फुट्दा, अर्को दलले समर्थन फिर्ता लिँदा अथवा संसद विघटन हुँदा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीले त्यसो गर्नुभएको छैन ।

Comment


Related News

Latest News

Trending News