अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ०६:५५

लहान । सिरहाको लहानमा रहेको सलहेस फुलवारीमा नयाँ वर्षको दिन फूल्ने फूल यसवर्ष तीनदिन अगावै फुलेको पाइएको छ ।

फुलवारीमा रहेको हारमको बोटमा माला आकारको फूल फुलेको हो । हारमको रूखमा झुण्डिएर फुल्ने फूललाई लोकदेवता सलहेसको प्रेम प्रतिक मानिन्छ । राजा सलहेस मिथिलाको दुसाध जातीको लोकदेवता पनि हुन् । प्रेम प्रतिक स्वरुप नयाँ वर्षकै दिन फूल फूल्ने गरेकाले यहाँ विशाल मेला लाग्छ । फुलवारीमा रहेको राजा सलहेश र मालिनीको मन्दिर रहेको छ । उक्त मन्दिर र फुलको पूजापाठ गर्दा मनोकामना पुरा हुने जनविश्वासका साथ पूजापाठ गर्ने चलन छ । तर यसवर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले मेला लाग्न नदिने निर्णयस्थानीय प्रशासनले गरेको छ । सिरहामै पकडिया गढ, मानिक दह र गोलबजारको धमनी माईथानमा पनि हरेक वर्ष मेला लाग्छ । सिरहा समरमुकामस्थित रहेको सलहेश गहबर क्षेत्रमा र लक्ष्मीपुर पतारीमा भने वैशाख २ गते मेला लाग्छ । तर यसपटक यी मेलाहरु पनि लाग्न नदिइने निर्णय भएको छ । सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सूचना जारी गरेरै भीडभाड हुने मेला लाग्न नदिन जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र सबै स्थानीय तहलाई पत्राचार गरेका छन् ।

सलहेश फूलबारी मेलामा नेपाल तथा भारतका हजारौं दर्शनार्थीहरु आउने गर्छन् । तर यसवर्ष भारतबाट श्रद्धालुलाई स्थानीय प्रशासनले आउन दिने छैन । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाको छ । यस्तो बेलामा भारतीयश्रद्धालु आएपछि नेपालमा पनि कोरोना फैलिन सक्ने भन्दै सिमा सिल गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत वर्ष पनि कोरोना भाइरसकै कारण सलहेश मेला स्थगित गरिएको थियो । एकतर्फ सरकारले भीडभाड गर्न नहुने भन्दै मेलामा प्रतिबन्ध लगाउँछ भने अर्कातीर राजनीतिक दलले नै भीडभाड हुने भेला, महाधिवेशन, अन्तरक्रिया जस्ता कार्यक्रम गर्दै आएको छ । प्रशासनले मेला स्थगित गरेर धार्मिक आस्थामाथि प्रहार गरेको स्थानीयको भनाई छ । मेला लाग्न नदिने प्रशासनको निर्णयले स्थानीय व्यापारी निराश बनेका छन् । मेलामा करोडौंको कारोबार हुन्छ । व्यापारीका लागि मेला कमाउने ठूलो अवसर हो । तर कोरोनाका कारण मेला नलाग्दा व्यापारीहरु मर्कामा पर्छन् ।

Comment


Related News

Latest News

Trending News