अपडेट 
२०७८ बैशाख ६, सोमबार ०८:४६

लहान । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले देशैभरका स्थानीय तहको न्यायिक समितिमा कानुन व्यवसायी नियुक्त गर्न लागेको बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वामा आइतबार राष्ट्रिय युवा संघ नेपालको जिल्ला भेलाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले न्यायिक सेवामा सर्वसाधारण जनताको सहज पहुँच पु¥याउन र प्रभाबकारी रुपमा न्याय सम्पादनका लागि स्थानीय तह न्यायिक समितिमा कानुनी सहायता अधिकृतको रुपमा कानुन व्यवसायी नियुक्त गर्न लागिएको बताए । ‘न्यायिक समितिहरुमा दक्ष कानुनी व्यक्ति नहुदा जनताहरुले सहज रुपमा कानुनी सेवा उपभोग गर्न सकिरहेको छैन्, कानुनमन्त्री श्रेष्ठले भने, ‘त्यसैले ७७ जिल्लाका सबै स्थानीय तहको न्यायिक समितिमा कानुन व्यवसायी नियुक्त गर्न लागेका छौ, यसबाट दलित, बिपन्न समुदायले सहज रुपमा न्यायको अनुभूति पाउने छन् ।’ यसका साथै ७७ वटै जिल्लाको जिल्ला अदालतमा एक÷एक जना कानुनी सहायता अधिकृत नियुक्तिको प्रक्रिया समेत अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिए । सरकारले गरिरहेको एकपछि अर्काे लोकप्रिय काम देखेर तर्सिएका प्रतिपक्षी दलहरु सरकार बिरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाउँदै मन्त्री श्रेष्ठले वर्तमान सरकारले मुलुकलाई सम्बृद्ध बनाउन स्वास्थ्य, शिक्षा, सडक, खानेपानी लगायतका क्षेत्रमा लोकप्रिय कार्य गरिरहेको दाबी गरे । ‘वर्तमान सरकारले भौतिक पुर्वाधार विकास सँगै मुलुकलाई सम्बृद्ध बनाउने थुप्रै योजनाहरु अघि सारेको मन्त्री श्रेष्ठले बताए । उनले सुरुङ्ग मार्ग निर्माण, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण जस्ता गौरबका योजनाहरु तिब्र रुपमा अघि बढाएको भन्दै सबै योजनाहरु छिटै सम्पन्न गर्ने दावि गरे ।

दलित बिपन्नका लागि सुरक्षित आवास, सुकुम्बासीलाई जग्गाको व्यवस्था, प्रत्येक दलित बस्तीमा सामुदायिक भवन, दलित छात्रछात्राहरुको उच्च शिक्षा निःशुल्क लगायतका थुप्रै कामहरु सरकारले अघि बढाएको मन्त्री श्रेष्ठको कथन थियो । सिरहा जिल्लाको सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, प्राबिधिक शिक्षालयहरु निर्माणको काम अगाडि बढाउँदै जिल्लाको अवस्था कायापलट गर्ने उनले दाबी गरे । कार्यक्रममा नेकपा एमालेका युवा नेता तथा पुर्वमन्त्री महेश बस्नेतले पार्टीको निर्देशन बिपरित जाने नेताहरुलाई पार्टीले कार्वाही गर्ने बताए । अहिले पार्टीभित्रै बसेर कतिपय नेताहरु पार्टीलाई फुटाउने, पार्टीको भावना बिपरित समानान्तर समिति बनाउने, पार्टीको निर्देशन बिपरित हिड्न थालेकाहरुलाई कार्वाही गरिने बताए । नेता बस्नेतले हामीले सबै नेताहरुमाथि निगरानी गरिरहेका छौं, छिटै पार्टीले ती नेताहरुलाई कार्वाही गर्ने उनले जिकिर गरे ।

सो अवसरमा बिभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई नेकपा एमालेमा प्रबेश गराईएको थियो । देशभरी कोभिड १९ को दोस्रो लहर फैलिएका बेला भिडभाड नगर्न, मेलापात लाउन स्थानीय प्रशासनले बन्देज लगाई रहेकैबेला सरकारी मन्त्री र पूर्वमन्त्रीहरु भने भिडभाड गरेर सभा सम्मेलन गरिरहेका छन् । जिल्लामा १ र २ गते लाग्ने मेलाहरु विथोल्न लागेका प्रहरी भने आजको सभामा धर्ना दिईरहेका थिए । यसलाई सर्वसाधारण जनताले सरकारले आफ्नै बक्तव्यको खिल्लि उडाएको बताएका छन् ।

Comment


Related News