अपडेट 
२०७८ बैशाख १२, आईतवार ०७:०३

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्ने कारबाही गर्नुपर्ने निर्देशन दिए । सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।
सम्बन्धित मन्त्रालय र सीसीएमसीका अधिकारीहरुको ब्रिफिङपछि ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले थप के–के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीले छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।

सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई वैशाखभर बन्द गर्नुपर्ने, धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्ने/गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न वैशाख ६ गते आदेश जारी गरेको थियो । सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा छ । त्यस्तै मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामी लगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाह लगायतका कार्य गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई २५ जनाभन्दा बढी उपस्थित नहुनेगरी गर्न सकिने सरकारले आदेश जारी गरेको छ ।

Comment


Related News

Latest News

Trending News