अपडेट 
२०७८ बैशाख १२, आईतवार ०७:१४

सर्लाही । शिक्षकहरुको आपसी विवादका कारण विद्यार्थीहरुको भविष्य अन्धकारमय बन्दै गएको छ । विद्यार्थीहरुको एसइइ र कक्षा ८ को बोर्ड परीक्षा नजिकिएपनि अहिले सम्म पाठ्यक्रम भने सकिएको छैन् । मलंगवा नगरपालिका अन्तर्गत रहेको जिल्लाकै सबैभन्दा पुरानो श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा विगत केही महिनादेखि चल्दै आएको शिक्षक–शिक्षक बिचको आन्तरिक विवादका कारण विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयमा भएका केही शिक्षकहरु पनि कक्षा कोठामा पढाउन नगइ अफिसमै बसेर एकअर्काको दोष निकालेर आपसी विवादमा समय बिताउने गरेका छन् ।

मावि, निमावि र प्राविमा गरि जम्मा २१ जना शिक्षकहरुको दरबन्दी रहेको यस विद्यालयमा मुस्किलले प्रअ सहित १० जना शिक्षकहरु उपस्थित हुने गरेका छन् । उपस्थित भएकाहरु पनि समयमा नआउने र छुट्टी हुनु अगावै विद्यालयबाट बाहिरिने गरेका छन् । सम्बन्धित विषयको शिक्षक नहुँदा विज्ञानको शिक्षकले नेपाली ,नेपालीको शिक्षकले अंग्रेजी विषय पढाउँदा सरहरुले पढाएको केहीपनि बुझ्न नसकेको विद्यार्थीहरुले गुनासो गरे । निजी स्रोतबाट शिक्षक राखेर विद्यालय संचालन गर्नु पर्ने अवस्थामा पनि आर्थिक श्रोतको कमिका कारण यस्तो गर्न नसकेको विद्यालयका प्रअ रामकुमार शर्माले बताए । यस विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुन्छ । अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीहरुले छुट्टै शुल्क तिनुपर्छ । तर, विद्यालयका केही शिक्षकले विद्यार्थीहरुसँग उठाएको शुल्क विद्यालयमा नबुझाएर आफुसँगै राख्ने गरेकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाएर राख्न नसकेको प्रअ शर्माले बताए । विद्यार्थीहरु सँग उठाएको पैसा विद्यालयको खातामा जम्मा गर्नु भन्दापनि शिक्षकहरुले नटेरेको उनले गुनासो गरे । जिल्लामै सबैभन्दा पुरानो ,ठूलो र विभिन्न उच्च ओहोदामा पुगेर देशको सेवा गर्दै आइरहेका ब्यक्तिहरु उत्पादन गरिसकेको यस विद्यालय सँग अहिले शिक्षक त परै जावोस् निजी श्रोतबाट एउटा कार्यालय सहयोगीको नियुक्त गरेर तलब खुवाउन सक्ने अवस्था पनि छैन प्रअ शर्माले बताए । तलब नपाएपछि निजी श्रोतका सबै शिक्षकहरु बाध्य भएर जागिर छोडेर गइसकेका छन् । निजी स्रोतबाट शिक्षकलाई तलब खुवान नसकेर शिक्षकले विध्यालय छोडेर जाने समस्याका कारण पठनपाठनमा समस्या हुने गरेको बताउनु भयो । उक्त विद्यालयमा करिब १२ सयभन्दा बढी विद्यार्थीहरु अध्यनरत छन् । तर विद्यार्थीअनुसार शिक्षक नहुँदा र पुरै घण्टी पठाइ नहुँदा अहिले मुस्किलले २ सयजना विद्यार्थीहरुको उपस्थिति हुने गरेको छ ।

सबैभन्दा बढी कक्षा १० र ८ मा विद्यार्थीहरु रहेकाले दुईवटा सेक्सनका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने गरिएको छ ।कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा पनि एउटै कक्षा कोठामा ५०–६० जना विद्यार्थीहरुलाई राखेर पढाउँदा शिक्षकले पढाएको कुरा बुझ्न समेत समस्या हुने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा अहिले पुरानै इन्कम्प्लिट रुटिनको आधारमा शिक्षकहरु समयमा नआइदिने आएपनि कक्षा कोठामा नगइदिने ,विद्यालय छाडेर अन्यत्र गइदिने,अफिसमै बसेर दिन बिताउने गरेका कारणहरुले गर्दापनि विद्यार्थीहरुको पठनपाठन अस्तव्यस्त भएको स्विकार्दै नगरपालिकाले विषयगत शिक्षकको आवश्यक्ता सम्बन्धि ख्याल नगरि सरुवा गरिदिएका कारण पनि विद्यालयमा यस किसिमको समस्या उत्पन्न भएको मावि तहका शिक्षक जितेन्द्र कुमार कर्णले बताउनुभयो । प्रअ शर्माले पनि नगरपालिकाले दरबन्दी मिलान न्यायोचित तरिकाले नगरेको र भएको दरबन्दीमा समेत कटौती गरेको कारण पठनपाठन प्रभावित भएको बताउनुभयो । यो विद्यालय मलंगवा नगरपालिका वडा न–९ स्थित नगरको बिच भागमा अवस्थित छ ।सदरमुकाम आउने जो कोहीको ध्यान यस विद्यालयले आफुतिर तान्छ ।तर यो बाहिरबाट जति भब्य देखिन्छ शिक्षा र व्यवस्थापनको मामिलामा भित्रबाट खोक्रो भइसकेको छ ।वडा न–९ का वडाध्यक्ष दिपलाल महतोले भने ।

शिक्षक–शिक्षक बिचको आन्तरिक कलह र विवादले गर्दा विद्यार्थीहरुको भविष्य धरापमा परेको छ । उनीहरुको आन्तरिक विवाद र कमजोर व्यवस्थापनले गर्दा एसइई र जिल्ला स्तरीय बोर्ड परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको रिजल्ट प्रति आफु चिन्तित रहेकोले विद्यार्थीहरुको भविष्य सँग खेलवाड गर्ने जोसुकै शिक्षकहरुलाई कडा कार्यवाही गर्न आफु प्रतिवद्ध रहेको वडाध्यक्ष महतोले चेतावनी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News