अपडेट 
२०७८ बैशाख १५, बुधबार ०८:१३

गौर । नेकपा माओवादी केन्द्रले रौतहटका दुई मेयर र पाँच उपमेयरलाई कारबाही गरेको छ ।

उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रिय कार्यालयले पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासित गरिएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको निर्णयले पुर्ववत रुपमा कायम भएको नेकपा माओवादी केन्द्र बाट निर्वाचित भएको र पार्टी परित्याग गरि साविकको एमालेमा प्रवेश गरेकोले कारवाही गरिएको जिकिर गरिएको छ । स्थानीय तहमा पार्टीको प्रतिनिधित्व गर्नु पर्नेमा नगरी एमालेमा प्रवेश गरि उक्त दलको साधारण सदस्यता स्वीकार गरि राजनीतिक गतिविधिमा संलग्न रहेकोले पार्टीको विधान एवं राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ३१ को उपदफा १,२ र दफा ३२ को उपदफा १ ख विपरित कार्य गरेकोले प्रदेश समिति सदस्य एवं मौलापुर नगरपालिकाका प्रमुख रिना कुमारी साह, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहालाई हटाइएको पत्रमा उल्लेख गरिएको छ ।

२०७८ बैशाख १० मा पार्टीले सोधेको स्पष्टिकरण चितबुझ्दो नरहेको समेत दावी गरिएको छ । नेकपा माओवादी केन्द्रले यस अघि मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद जैसवाल , फतुवा विजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी महतो , देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी पटेल , माधव नारायण नगरपालिकाका उपमेयर सिमल कुमारी साह , यमुनामाइ गाउँपालिकाका उपाध्यक्ष गीता देवी साहलाई पार्टीबाट निस्कासित गरेको थियो । २०७५ साल जेठ ३ गते माओवादी र एमाले पार्टीबीच एकीकरण हुँदा नेकपा पार्टी कायम भएको थियो । दुवै पार्टीबीच एकीकरण भएको तीन वर्षमै सर्वोच्च अदालतले २०७७ साल फागुण २३ गते नेकपा खारेज गरेपछि पुनः एमाले र माओवादी साविककै पार्टी अर्थात नेकपा माओवादी र नेकपा एमाले नै कायम भएको छ । माओवादीबाट निर्वाचित भएका उनीहरु एमालेमा प्रवेस गरेपछि माओवादीले केही दिन अघि मात्रै स्पष्टीकरण सोधेको थियो तर उनीहरुले चितबुझदो जवाफ नदिएकोले पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको पार्टी अध्यक्ष प्रचण्डद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । कुनै पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा स्वत पदमुक्त हुने कानुनी व्यवस्था रहेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा दल त्याग गर्न नहुने भनिएको छ । सो ऐन अनुसार दल त्याग गर्ने सांसद, प्रदेश सांसद वा स्थानीय तहको सदस्यको निर्वाचित भएको पद दल त्याग गरेको मितिदेखि नै स्वत रिक्त हुने व्यवस्था रहेकोले दल त्यागेका रौतहटका मेयर र उपमेयरको पद पनि अब जाने भएको छ । यसअघि माओवादी केन्द्रले प्रदेश २ का चार जना सांसदहरुलाई कारबाही गर्दै निष्कासित गरेको थियो । पार्टीका तत्कालीन संसदीय दलका नेता रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा र मोहम्मद समिरलाई माओवादी केन्द्रले कारबाही गरेका थिए । गएको चैत ३० गतेको प्रदेशसभाको बैठकले चारै जना सांसदहरुलाई पदमुक्त गरेको थियो । उनीहरु पनि माओवादीबाट एमालेतिर लागेका थिए । माओवादीबाट एमालेतिर लागेपछि पार्टीले चारै जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको थियो । निष्कासित गरेको पत्र प्रदेशसभामा प्राप्त भएपछि उनीहरुलाई पदमुक्त गरिएको थियो । नेकपा माओवादी केन्द्र व्युतिएपछि प्रदेश २ का नेताहरु एमालेतिर आकर्षित भएका छन् ।

तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साह रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । एमालेतिर लागेपछि उनी पनि पदमुक्त भएका छन् । नेता साह पदमुक्त भएपनि केपी ओली नेतृत्व सरकारमा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्री साहकी पत्नी मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहलाई पनि माओवादी केन्द्रले कारबाही गर्दै निष्कासित गरेको छ ।

Comment


Related News

Latest News

Trending News