अपडेट 
२०७८ बैशाख १५, बुधबार ११:२८

हरेक मानिसले कुनै न कुनै काम कहीँ न कहीँ गरिरहेका हुन्छन् । यस मान्यतालाई यदि मान्ने हो भने बालबालिकाले खेलेर वा पढेर आफ्नो काम गरिरहेका छन् । एकजना वयोवृद्धले कुनै एक ठाउँमा शान्तपूर्वक बसेर आफ्नो काम गरिरहेका हुन्छन् । यसले हरेक मानिसले आफ्नो समयमा उचित काम गरिरहेको वा गर्नुपर्ने अवस्थालाई जनाउँछ । आजभोलिको युग बहुमुखी युग पनि हो । एकजना मानिसले अनेक काम गरिरहेका हुन्छन् । एकभन्दा धेरै काम गरिरहेको अवस्थामा तिनले जुन काम जहाँ गरिरहेका हुन्छन्, त्यहीँ उनको कार्यस्थल हो । वास्तवमा जसले जहाँ जुन काम गर्दछ, सोही कामको सन्दर्भमा काम गरेको स्थान नै कार्यस्थल हो । जसले जसमा बढी समय बिताउँछ वा बिताउनुपर्ने हो त्यहीँ नै उसको मूल काम हो ।

मूल काममा मानिसले तुलनात्मकरुपमा बढी समय व्यतीत गर्दछ । बढी समय व्यतीत गर्नुको अर्थ हो, उसले आफ्नो श्रम र मानसिकता दुवैको लगानी बढी उपयोग गर्दछ । जुन काममा तन र मन दुवै बढी लगानी हुन्छ, त्यही कामलाई मूल काम भन्न सकिन्छ । यस्ता कामहरु जोखिमपूर्ण पनि हुन सक्छन् वा पूर्णतया जोखिममुक्त पनि । कतिपय अवस्थामा एउटै काम अत्यन्त जोखिमपूर्ण र अत्यन्त सरल वा ज्यादै जोखिममुक्त पनि हुन सक्छ । उदाहरणको लागि पत्रकारिता पेसालाई लिन सकिन्छ । पत्रकारिता पेसा आफैँमा जोखिमपूर्ण पेसा हो भनेर मानिन्छ । यदि कोही कठिन वा अत्यन्त जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ गर्नुपर्ने हुन्छ भने त्यहाँ अत्यन्त जोखिमपूर्ण हुन सक्छ । आगलागी, बाढी, वर्षा, महामारी तथा ठूला सामूहिक झैझगडा वा मारपिट तथा द्वन्द्व आदिको रिपोर्टिङ अत्यधिक जोखिमपूर्ण पत्रकारिताको श्रेणीमा पर्न आउँछ । अहिले कोरोना जसरी फैलिएको छ र यसले जसरी डर जमाएको छ, यस अवस्थामा कोरोना प्रभावित क्षेत्रमा गएर त्यहाँको अवस्थाको रिपोर्टिङ तथा कोरोनाको उपचार भइरहेका अस्पतालहरुको रिपोर्टिङका साथै कोरोनाको उपचारमा संलग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुको अवस्था तथा आवश्यकताको रिपोर्टिङ अहिलेको समयमा आफैँमा अत्यधिक जोखिमपूर्ण रिपोर्टिङ हो भन्न सकिन्छ । सामान्य अवस्थामा एकजना सम्पादकले आएका रिपोर्टिङहरुलाई हेरेर, बुझेर, पढेर सम्पादन गर्नु र त्यसलाई पत्रिका वा अनलाइन वा अन्य सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्नु सामान्यतया कम जोखिमपूर्ण पत्रकारिता हो ।

सामान्य अवस्थामा साधारण किसिमले घुमफिर गरी कुनै रिस्क नभएको समाचार लेख्नु पनि कम जोखिमपूर्ण पत्रकारिता हो । स्तम्भलेखन, विचार लेखन आदिलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण पत्रकारिता मान्न सकिन्छ । हरेक पेसामा जोखिमको अवस्था कम हुने वा नहुने वा अत्यधिक हुने हुन सक्छ । काममा जोखिम बाह्य हुन सक्छ वा आन्तरिक पनि हुन्छ । मुख्यतया काममा लागेका मानिसले नै बुझेका हुन्छन् कि उनले काम गर्ने ठाउँ कतिको सुरक्षित छ । कामको सुरक्षा र काममा सुरक्षा दुवै दृष्टिकोणले काम गर्ने मानिसलाई सुरक्षित छु भन्ने महसुस हुनुपर्दछ । कहिलेकाही असुरक्षित रहेको वा भएको पनि थाहा नहुन सक्छ काम गर्नेलाई । यस्तो परिस्थितिमा कुनै संयन्त्रमार्फत सुरक्षित बनाइनु पर्दछ तथा कस्तो किसिमको असुरक्षा हो त्यो पनि निजलाई जानकारी गराइनु पर्छ । काम गर्नेले आफूलाई सुरक्षित महसुस गर्छन् भने कार्य सम्पादन राम्रो हुने हुन्छ र सुरक्षाको अनुभूति कम हुने तथा असुरक्षा महसुस हुने स्थितिमा भने असुरक्षा वा जोखिमको अवस्था हेरी कार्य सम्पादन धेरै वा थोरै प्रभावित हुन पुग्दछ । कहिलेकाही जोखिमको बारेमा पहिले नै जानकारी हुन्छ भने कामलाई प्रभावित नपार्ने गरी जोखिमलाई कम गर्न तथा हटाउन पनि सकिने उपायहरु गर्न सकिन्छ । यस्तो हुन सकेमा काम गर्नेको मनोबल बढ्दछ । काम गर्नेको मनोबल बढेमा कार्य सम्पादन अझ राम्रो हुने हुन्छ । जसले जहाँ काम गरेका छन्, त्यहाँ अन्य किसिमले सुरक्षित महसुस हुनुपर्छ भन्ने पहिलो शर्त हो । यससँगसँगै काम गर्ने थलो स्वास्थ्यका दृष्टिकोणले पनि उचित हुनु आवश्यक छ ।

जहाँ मानिसले काम गर्दछन्, त्यो ठाउँ स्वास्थ्यको दृष्टिले सुरक्षित हुनुपर्छ भन्न खोजिएको हो । त्यहाँको वातावरण पनि स्वास्ज्यानुकूल हुनुपर्दछ भन्न खोजिएको हो । कामको प्रकृति र वातावरण तथा अन्य पक्ष सुरक्षित नहुँदा मानिसको जीवन वा स्वास्थ्यलाई तत्काल वा दीर्घकालमा असर पु¥याउने खतरा हुन्छ । यस्तो कुनै किसिमको खतरा हुनुहुँदैन । हरेक कोण र दृष्टिकोणबाट सुरक्षित हुनुपर्दछ भन्ने मान्यता रहेको छ । सबै दृष्टिकोणले स्वस्थ्य रहे पनि स्वास्थ्य बिमा गराउनु उचित हुन्छ । काम गर्ने थलोमा वा कामको लागि आवतजावत गर्ने क्रममा पनि केही हुन पुगेमा आवश्यकतानुसारको बिमा हुनु आवश्यक भइसकेको छ । अहिलेको परिस्थितिमा त काम गर्ने व्यक्तिले अनिवार्य कोरोना बिना गरेका छन्, गराएका छन् । कतिपय अवस्थामा काम गर्ने संस्थाले नै कोरोना बिमा गराएको देखिएको छ । सरकारी कार्यालयका शिक्षत तथा कर्मचार ीसमेतको पनि कोरोना बिमा गरिएको छ । कर्मचारीका लागि काम गर्ने ठाउँमा पर्याप्त सुरक्षा अपनाउन सक्ने व्यवस्था गरिएको छ, जस्तो कि सम्भव भएसम्म सेवाग्राहीलाई कर्मचारीसित भौतिक नजिक हुन नदिने, झ् याल वा टाढाबाट काम गर्ने, कार्यालयमा पस्ने सेवाग्राहीले अनिवार्य रुपमा हात सेन्टाइज गर्ने, मुखमा मास्क हुनुपर्ने तथा सम्भव भएसम्म कर्मचारीको हातमा पन्जा, नाकमा मास्क वा अनुहारमा फेससिल्ड हुनुपर्ने बनाइएको छ । कोरोनाजस्तो महामारीबाट जोगिनको लागि सकेसम्म सुरक्षा सावधानी अपनाइएको हो जुन स्वास्थ्यका दृष्टिले पनि निकै महत्वपूर्ण रहेको देखिन्छ । समयले तात्कालिक परिवेशमा निर्माण गरेको परिवेशमा यसरी काममा सुरक्षा र स्वास्थ्यका लागि वातावरण तयार पारिएको हो । कुन यस्तो काम होला जहाँ सुरक्षाको आवश्यकता नहोला ? वास्तवमा हरेक कामलाई सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले हेरिनु आवश्यक छ । मानवका लागि आधारभूत आवश्यकता भनेको गाँस, बास र कपास हुन् । यसलाई बाँच्नलाई नभई नहुने आवश्यकता भनिएको छ ।

आधुनिक युगले स्वास्थ्य र शिक्षालाई पनि आधारभूत आवश्यकता मानेको छ । अहिले विश्वमा रोजगारी वा कामलाई पनि आधारभूत आवश्यकता मानिन थालिएको छ । यसरी काम मानिसको आधारभूत आवश्यकता पनि हो र आधारभूत आवश्यकताको निर्वाह गर्दा सुरक्षा र स्वास्थ्य दुवै दृष्टिकोणले आवश्यक विचार पु¥याइनु यसकारण जरुरी देखिन्छ कि सुरक्षा र स्वास्थ्य दुवैको अभावमा जीवनमाथि खतरा हुने डर हुन्छ । जीवन नै खतरामा पर्ने गरी कुनै किसिमको काम हुन्छ भने फेरि आधारभूत आवश्यकताको परिपूर्ति केका लागि ? आधारभूत आवश्यकताले आधुनिक युगको मानव अधिकारका अनेक पक्षलाई पनि सम्बोधन गरेको देखिन्छ । यसरी काममा सुरक्षा र स्वास्थ्यको दृष्टिकोण आधुनिक र वैज्ञानिक दृष्टिकोण हो र मानव अधिकारको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । यसतर्फ सचेत बुद्धिजीवी तथा राज्यले पनि उचित ध्यान दिनुपर्दछ र काम गर्नेहरुले पनि आफू पनि अत्यन्त सम्वेदनशील भएर यस कुराको सम्बोधन गर्नुपर्नेमा विश्वस्त हुनुपर्छ । आज काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस हो । यो दिवस हरेक वर्ष आजैको दिन मनाइन्छ । काम गर्ने हरेक व्यक्तिको लागि उसको काम कति सुरक्षित छ, काम गर्ने ठाउँ कस्तो सुरक्षित छ, कामको वातावरण कस्तो छ, स्वास्थ्यको दृष्टिकोणले काम कस्तो छ, स्वास्थ्यको दृष्टिकोणले काम गर्ने ठाउँ कस्तो छ, आदि सम्वेदनशील विषयमा सोच्न लगाउँछ । सम्भव भएसम्म राम्रो कसरी बनाउन सकिएला भन्ने पक्षबाट सोच्न वा योजना बनाउन वा काम थाल्ने दृष्टिकोण दिन्छ । हामी सबैले आफ्नो दायित्व यो पनि बुझ्न् पर्दछ कि हामीले काम गर्ने तथा हामीले काम गराउने ठाउँ सुरक्षित छ कि ?

सुरक्षाको दृष्टिकोणले कुनै कमी कमजोरी छ कि ? स्वास्थ्यका दृष्टिकोणले पनि उपयुक्त छ कि ? सबैले काममा सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले पनि उचित वातावरण पाउनु पर्दछ । अहिलेको सन्दर्भमा यसको महत्व झन् बढेर गएको छ । त्यो पक्ष जसले यी र यस्ता विषयमा सरोकार राख्दछ, झन् उत्तरदायी बन्नुपर्ने समयको विकास भइसकेको छ । एकातिर चेतनामा वृद्धि गरिनु आवश्यक छ भने अर्कोतिर यसको पक्षमा काम गरिनु पनि आवश्यक छ । सबैले आफ्नो उत्तरदायित्व बुझेर काम गरेमा काम गर्ने हरेक मानिस सुरक्षित हुन्छन् ।

Comment


Related News

Latest News

Trending News