अपडेट 
२०७८ बैशाख १७, शुक्रबार ०७:०९

गत साताको वैशाख ११ मा १५ औं लोकतन्त्र दिवस देशभरि मनाइयो । धेरैजसो औपचारिकतामा सीमित यो दिवसको महत्व आमव्यक्तिको जीवनमा के परेको छ भन्ने कुरा यतिखेरको गम्भीर विषय हो । दोस्रो जनआन्दोलनका रुपमा चर्चित र स्थापित ०६२÷०६३ को राजनीतिक आन्दोलन सफल भएको दिन वैशाख ११ को दिनलाई स्मरण गर्दै मनाइने यो दिवस नेपाल र नेपालीका लागि विशेष छ । थुप्रै शहीदको शहादतपछि आम नेपालीमाझ स्थापित यो दिनको भावनात्मक महत्व हाम्रालागि निश्चय पनि स्मरणयोग्य छ । यस दिनपछि मात्र नेपालीले स्वयंलाई देशको सम्प्रभू नागरिकका रुपमा स्थापित र परिभाषित गर्ने अवसर प्राप्त गर्न सकेका हुन् ।

यसपटकको लोकतन्त्र दिवसको अवसर पारेर धरहराका नाममा नयाँ बनाइएको भिमसेन स्तम्भ वा ओली टावरको उद्घाट्नको कार्यक्रमको आयोजन गरियो । सत्ताले यो टावरको उद्घाट्नलाई लोकतन्त्र दिवससँग जोडनुलाई त्यति अस्वभाविक मान्न नसकिएला तर सत्ताले जुनरुपमा यस टावरको उद्घाटन्लाई प्रचार गरेको छ र जसरी यसलाई महत्व दिएको छ, सिंगो लोकतन्त्र दिवस ओझेल पर्ने अवस्थाको निर्माण भयो भन्दा अस्वभाविक हुँदैन । प्रश्न उठेको छ, लोकतन्त्र दिवस महत्वपूर्ण कि टावरको उद्घाट्न ? लोकतन्त्रको दिवसको ठीक छ दिनपछि हिजोदेखि (वैशाख १६) देशका विभिन्न ठाउँले पुनः लकडाउन र निषेधाज्ञाको मार खेप्न सुरु गरेका छन् । कोरोना नियन्त्रणका नाममा लगाइएको यो लकडाउनले कोरोना नियन्त्रण कति गर्ला त्यो त अहिले नै यकिन गर्न सकिँदैन तर आम भुईँमान्छेको जीवन भने प्रतिकूलरुपमा प्रभावित हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन । यसका सन्दर्भमा पछिल्लोपटकको लकडाउनको अनुभवलाई स्मरण गर्न सकिन्छ । खायर यससम्बन्धमा पछि पनि विज्ञहरुले चर्चा गर्लान । अहिलेलाई लोकतन्त्र दिवसकै बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ । पछिल्लो साता देश र जनताले लोकतन्त्र दिवस मनाइरहँदा योसँग जोडिएर थुप्रै विषय हाम्रासामु उपस्थित छन । मूल विषय जनताले अनुभूत गर्ने उपलब्धी ( नेपाली लोकतन्त्रको विश्लेषण गर्नु जरुरी हुन्छ । प्रसिद्ध दार्शनिक एरिस्टोटल (अरस्तु)ले लोकतन्त्रमा धनीभन्दा गरिबहरु बढी शक्तिशाली हुन्छन् किनकी समाजमा गरिबहरुको वर्चस्व हुन्छ भनेर लोकतन्त्रलाई परिभाषित गर्ने प्रयत्न गरेका छन् ।

यसैगरी प्रसिद्ध विचारक एवं अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको, जनताद्धारा जनताको लागि जनतामार्फत गरिने शासन व्यवस्था नै वास्तविक लोकतन्त्र हो, भन्ने भनाईबाट आजको युगमा कोही पनि अनभिज्ञ छैनन । लोकतन्त्रका बारेमा अलिकति पनि जानकारी राख्ने बालबालिकादेखि वृद्धवृद्धा सबैले लिंकनको उपर्युक्त भनाइ उच्चारण नगर्ने विरलै होलान । यस्तै यस शताब्दीका महान विचारक नोवेल पुरस्कार विजेता अमत्र्य सेनले लोककल्याणकारी राज्य र सरकारको सन्दर्भमा लोकतन्त्रको महत्व प्रष्ट्याउँदै भनेका छन्— समकालिन समाजमा लोकतान्त्रिक मूल्य—मान्यतालाई आत्मसात गरेको सरकारले मात्र जनताका आधारभुत आवश्यकता र चाहनालाई सम्बोधन गर्ने सामथ्र्य राख्दछन् । यसै शताव्दीका अर्का महान विचारक समाजशास्त्री जेम्स माहोनीले व्यक्त गरेको विचार पनि मननीय छ । जेम्सका विचार मननीय मात्र छैन, विश्लेषण गर्ने हो भने उनको विचारलाई आजको लोकतन्त्रको सन्दर्भमा शासनको परीक्षण गर्ने कसीका रुपमा बुझ्न सकिन्छ । उनको शव्दमा— लोकतन्त्रले सहभागितामूलक शासन व्यवस्थामा विश्वास गर्दछ, पारदर्शीताको वकालत गर्दछ र उत्तरदायित्वलाई सधैभरी आत्मसात गर्दछ । माथिको विचारहरुको आलोकमा विश्लेषणको प्रयत्न गर्ने हो भने नेपाली लोकतन्त्रको विद्यमान अवस्थाबाट सन्तुष्ट हुन सकिने अवस्था छैन । माथिका सबै विचारले नागरिक र जनतालाई केन्द्रमा राखेको छ । तर नेपाली लोकतन्त्रको अवस्थाको मूल्यांकन गर्ने हो भने यहाँ जनता होइन नेता राजनीतिको केन्द्रमा रहने गरेको पाउन सकिन्छ । लोकतन्त्र दिवसको सन्दर्भमा एउटा कुरा स्वीकार्नै पर्छ, नेपाली लोकतन्त्र अझै पनि सुदृढ र संस्थागत हुने दिशामा अगाडि बढन सकेको छैन ।

लोकतन्त्र धेरै हदसम्म जनतालाई आवश्यक सेवा प्रदान गर्ने सेवा प्रदायक संयन्त्र हो । तर दुखका साथ भन्नुपर्ने हुन्छ नेपाली लोकतन्त्रले आफूमा यो चरित्रको विकास गर्न सकेको छैन । विमिन्न नाममा हुने अनियमितता र भ्रष्टाचार नेपाली लोकतन्त्रका प्रमुख चुनौती बनेका छन । यसैगरी नातावाद र कृपावाद अर्काथरि धमिरा बनेका छन । जवकी यी बिसंगतिहरुको लोकतन्त्रसँग कुनै साइनो हुँदैन । यस्तै विसंगतिहरुबाट समाजलाई मुक्त पारी जनतालाई आबश्यक सेवा सहज रुपमा प्रदान गर्ने प्रक्रियालाई चुस्त बनाउनु लोकतन्त्रको महत्वपूर्ण गुण हो । तर, बिडम्बना नै भन्नुपर्छ लोकतन्त्रलाई यी गुणसम्पन्न गराउनुभन्दा स्वार्थपुर्ती गर्ने संयन्त्रका रुपमा प्रयोग भैरहेको देखिन्छ । यो अवस्थाले गर्दा लोकतन्त्रबिरोधीहरुले लोकतन्त्र नै अफाप भयो भन्ने प्रचार गर्ने अवसर पाइरहेका छन् । लोकतन्त्रका पक्षपातीहरु यी विषयमा गम्भीर हुन नसक्दा अधिनायक र एकाधिकारवादीहरुका लागि यो स्थिति अनुकूल हुने खतरा बढेको कुरालाई अस्वीकार गर्न सकिँदैन । कम्तिमा अहिले सरकारको नेतृत्वमा रहेकाहरुका लागि यी कुरा सोचनीय छन, हुनुपर्दछ । यो समस्या आजको सन्दर्भमा नेपालको मात्र नहुन सक्छ । कुनै न कुनै रुपमा विश्वमै यसबारे वहस चलिरहेका छन । लोकतन्त्र विश्वकै उत्कृष्ट शासन व्यवस्था हो, यसमा शंका छैन । यसका साथै लोकतन्त्र कहिल्यै पनि स्वयंमा पूर्ण शासन प्रणाली होइन, यसमा पनि शंका हुन सक्दैन । तर लोकतन्त्रमात्र यस्तो शासन प्रणाली हो जसले स्वयंमा उत्कृष्टताहरु थप्न र सर्वोत्कृष्ट बनाउन आवश्यक संयन्त्र, अवयव र सिद्धान्तहरुको उपस्थिति तथा संलग्नतालाई स्वीकार गर्छ र गरिरहन्छ । अन्तरव्यवस्थापिका परिषद्ले यस विषयमा चासो राख्ने गरेको छ र लोकतन्त्रलाई जनताको जिम्मेवार शासन प्रणालीका रुपमा विकसित गर्ने प्रयत्न थालेको छ ।

यसै सन्दर्भमा गत चैतको अन्तिम साता कतारको दोहामा अन्तरव्यवस्थापिका संसदको बैठक सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट सभामुख कृष्णबहादुर महराको नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको स्मरणीय छ । बैठकमा नेपालले लोकतन्त्रको कार्यान्वयन्प्रति पुनः एकपटक प्रतिवद्धता जनाएको छ, जो सुखद छ । लोकतन्त्रको विकल्प भनेको निरन्तर लोकतान्त्रीकरण मात्र हो । लोकतन्त्रका मूल्यपद्धतिमा परिष्कृत गर्दै मानव चाहनाको उच्चतम सम्बोधनमार्पmत् प्रणालीगत सुधारमा चिन्तन– प्रवाह जारी छ । लोकतन्त्रले सामाजिक जीवनमा पारेको अद्भूत प्रभावलाई आज विश्वव्यापीरुपमा स्वीकार गरिएको छ । नेपालमा लोकतन्त्र र यसपछि गणतन्त्रको स्थापना भएको छ र विकसित भइरहेको छ । नागरिक साँच्चै सम्प्रभुसम्पन्न भएका छन् र वैयक्तिक विकासको मार्गमा होमिएका छन् । नागरिकले विगतदेखि वर्तमानसम्मको अनुभवको आधारमा लोकतान्त्रिक शासनलाई उत्कृष्ट ठहर् याएका छन् । मुल कुरा हो जनताको जीवनस्तरमा सुधार । जनतालाई विश्वास छ, लोकतन्त्रले उनीहरुको आशालाई साकार रुप प्रदान गर्नेछ । आशा गरौ अघिल्लोपटकको पाठबाट शिक्षा लिएर यसपटक सत्ताले कोरोनाका सम्बन्धमा यथोचित सम्बोधन गर्नेछ र कोरोनाको समस्या धरहरा उक्लिने छैन । यति गर्न सकिएको खण्डमा जनताले थोरै भए पनि लोकतन्त्रको अनुभूत गर्न सक्नेछन् ।

Comment


Related News

Latest News

Trending News