
रोजगारीका लागि भारत लगिएका सप्तरीका एक यूवकको शंकास्पद मृत्यु भएको छ ।
सप्तरी, राजगढ गाउँपालिका–५ मलेकपुरका ४० वर्षिय बुधु सदाको शंकास्पद मृत्यु भएको हो । परिवारजनका अनुसार छिमेकी गाउँ छिन्नमस्ता २ हाटीका रमेश यादवले भारतीय सीमावर्ती क्षेत्र बिहारको नेउरमा काम लगाइदिने भन्दै सदालाई गत मंगलबार त्यसतर्फ लिएर गएका थिए । त्यहाको प्लाइ उद्योगमा काममा लगाइएपछि उनी त्यसयता घर फर्किएका थिएनन् । शुक्रबार रमेशले फोन गरि उनको परिवारलाई विरामि भएको जानकारी गराएका थिए । परिवारले उनलाई भारतबाट ल्याएर अस्पताल भर्ना गराएका थिए । अस्पताल भर्ना गरायएका सदाको शरिरमा कुटपिटको निलडाम देखिएको थियो । अस्पताल भर्ना भएका सदाको शुक्रबार राती ८ बजेतिर मृत्यु भएको हो । मृतककी पत्नी प्रमिला सदाले बुधुलाई लिएर गएका रमेशले प्लाइ उद्योगमा खान खुवाएर राखेको र छुटी नदिएर लगातार काममा खटाउने गरेका थिए । घर जान विदा मागेपछि निर्घात कुटपिट गर्दा श्रीमानको मृत्यु भएको प्रमिलाले बताइन । अस्पतालमा उपचारको क्रममा कुटपिटबाट बुधुले कुटपिटबारे बताएको श्रीमती प्रमिलले बताइन । सदाको मृत्युपछि सप्तरीकी अधिकारकर्मी सुनिता साहको पहलमा यादव बिरुद्ध प्रहरीमा किटनी जाहेरी समेत दिइएको छ । प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले मृतकको शव पोष्टमार्टम पछि बास्तविकता स्पष्ट हुने बताए ।
