२०७८ बैशाख २२, बुधबार ०७:३३

धनुषा जिल्लामा समयमै उपचार नपाउँदा एकजनाको मृत्यु भएकोछ ।

कोरोनाका लक्षणहरु भएको बिरामीको उपचार अभावमा मृत्यु भएको हो ।नेपाली सेनाले मृतकको दाहसंस्कार गरेपनि कोरोना परीक्षण भने भएको छैन् । चार/पाँचदिनदेखि रुघाखोकी ज्वरो लागेका ४५ वर्षीय लोकबहादुर परियारको उपचारको अभावमा मृत्यु भएको बताइएकोछ ।उनलाई कोरोना भाइरसको संक्रमण रहे नरहेको यकिन समेत हुन सकेन् ।आफ्न्त नभएका परियारलाई एम्बुलेन्स चालक रामबाबु महतोले उपचारका लागि जनकपुरधाम ल्याएका थिए ।महतोपनि बटेश्वरकै बासिन्दा हुन् । सोमवार राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाको बटेश्वर बजारमा रहेको एउटा निजी क्लिनिकमा लगिएको थियो ।तर त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि जनकपुरधाम पठाइएको थियो ।राती करिब ८ बजे जनकपुरधामको प्रादेशिक अस्पतालमा भनेर पठाइएको क्लिनिक सञ्चालक सीएमए सुबोध साहले बताए ।‘ राम्रो उपचारका लागि जनकपुरधाम पठाइएको बिरामीलाई रातभरि कहाँ राखे के गरे त्यो थाहा नभएको साहले जनाए ।तर राती ेफर गरिएको बिरामीलाई फर्काएर फेरी म कहाँ नै बिहान ल्याउँदा एकै छिनमा मृत्यु भएको उनले बताए । बिरामी बोकेर जनकपुरधाम आएका एम्बुलेन्स चालकले प्रादेशिक अस्पताल लगायतका निजी अस्पतालहरुमा समेत बिरामीलाई लगेको तर कतै उपचार नगरिएको स्थानीयहरुलाई बताएका छन् ।

प्रादेशिक अस्पतालमा बेड खाली नभएको बताउँदै फिर्ता गरेपछि निजी अस्पतालहरुमा रकम अभावको कारण उपचार नभएको चालकको कथन रहेको स्थानीयहरुले जनाएका छन् । प्रादेशिक अस्पतालका प्रमुख डा.प्रमोद यादवले कोभिड र जेनरल अस्पतालको आकस्मिक कक्षमा समेत बिरामी आएको तथ्यांक नरहेको बताए ।‘ अस्पतालमा बिरामी आएको रेकर्ड इमर्जेन्सी र कोभिड अस्पतालमा छैन् ’उनले भने, अस्पतालमा ल्याउँदै नल्याइ दलालहरुले अन्यत्र नै लगेको हुन सक्छ । मिथिला नगरपालिका घर भई बटेश्वर गाउँपालिका ४ ससुरालीमा बस्दै आएका परियारको आफ्न्तहरुले लाश बुझेनन् । वेवारिस अवस्थामा शव रहेकोले नेपाली सेनाले ब्यवस्थापन गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जनाए ।‘शव व्यवस्थापन नेपाली सेनाले गरेको हो’ उनले भने, तर स्वाब परीक्षण नभएका कारण कोरोना भाइरस संक्रमण भए नभएको यकिन हुन सकेन् ।यद्यपी उनलाई केहि दिनदेखि रुघाखोकी र ज्वरो लागेको जानकारी प्राप्त भएको उनले बताए ।लक्षणको अधारमा कोरोना भाइरस पोजेटिव हुन सक्ने अनुमान स्थानीय बासिन्दाहरुले गरेको प्रजिअ बास्तोलाले जनाए । महोत्तरी जिल्लामा कोरोना संक्रमणको आशंका गरिएको एकजनाको मलामी गएकाहरु मध्ये झण्डै तीन दर्जनमा संक्रमण देखिएपछि स्वाब परीक्षण नभएपनि लक्षण भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्न थालेकोछ ।

प्रदेश २ मा कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको समाजिक विकास मन्त्रालयको तथ्यांकबाट देखिन्छ । जिल्लाहरुमा निषेधाज्ञा लागु गर्न थालिएकोछ । पर्सा, धनुषा र महोत्तरी जिल्लामा संक्रमितको संख्या बढी देखिएकोछ ।स्थानीय प्रशासनले तीनवटै जिल्लामा निषेधाज्ञा लागु गरेकोछ ।रौतहट, बारा, सर्लाही, सिरहा र सप्तरीमा कोरोना भाइरस संक्रिमतको संख्या कम रहेको सरकारी तथ्यांकबाट देखिन्छ ।

Comment


Related News

Latest News

Trending News