सिरहामा पनि वैशाख २३ गते ( भोली )बाट आंशिक निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
मंगलवार बसेको डीसीसीएमसीको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सिरहा जिल्लाभर आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । भाडाका यात्रुबाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोर प्रणाली
अनुसार सञ्चालन गर्नदिने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । उनका अनुसार खाद्यान्न, फलफुल र तरकारी विहान ६ बजेदेखि अपरान्ह् ५ बजेसम्म र निर्माण सामग्री खसाली भण्डारण गर्न बाहेक विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै शैलुन, जिमखाना, स्पा, साउना संचालन नगर्ने निर्णय पनि गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई मात्र औषधी, पानी, दुध डेरी र पेट्रोलियम पदार्थ निर्वाध रुपमा व्यवसाय गर्न भनिएको छ । यस्तै विहे जस्ता कार्य गर्न स्थानीय तहको अनुमति अनिवार्य लिनुपर्ने निर्णय पनि डीसीसीएमसीको बैठकले गरेको छ । स्थानीय तहको अनुमति लिएर बढीमा २५ जना सहभागीतामा स्वास्थ्य मापदण्ड अपनाएर मात्र विहे जस्ता सामाजिक कार्य गर्नुपर्ने निर्णय गरिएको प्रजिअ कणेलले जानकारी दिए ।


