अहिले कोरोनालाई एउटा महामारीको रुपमा विश्वमा लिइएको छ । आजभोलि भारत र नेपालमा अत्यधिक मात्रामा कोरोनाको कहर देखिएको छ । यसलाई कोरोनाको दोस्रो लहर भनिएको छ । कतिपयले कोरोनाको न्यु भेरियन्ट पनि मानेका छन् । भारत र नेपाल दुवैतिरका सञ्चारमाध्यमले धेरै संख्यामा कोरोनाको विस्तार भएको बताइरहेका छन् । गत वर्ष कोरोनाको जुन रफ्तार थियो, त्यसको तुलनामा अहिलेको रफ्तार निकै बढी छ । कोरोना संक्रमितको एक दिनको संख्याको दृष्टिकोणले नेपाल र भारत दुवैतिर सबै रेकर्डहरु तोडिएका छन् र नयाँ रेकर्ड कायम भएको छ । केही दिन त हरेक दिन नयाँ रेकर्ड कायम भएको अवस्था देखिएको थियो र झन्डै अहिलेसम्मको अवस्था पनि यही रहेको छ । अहिले कोरोनाको विस्तारलाई कसरी रोक्ने भन्ने विषयमा नेपाल र भारत दुवै देशले सकेको उपाय गरिरहेका छन् ।
देशले जति गर्नुपर्ने हो त्यत्ति गरिरहेको अवस्थामा सर्वसाधारणमा भने खासै सचेतना नहुँदा कोरोनाको विस्तारले गतिलो गति पाइरहेको छ । गत वर्षको कोरोना महामारीको समयमा देशभर लकडाउन भइहालेको थियो । अहिले देशका विभिन्न जिल्लामा निषेधाज्ञा छ । गत वर्षको तुलनामा धेरै गतिमा कोरोना बढिरहेको भए पनि सरकारले किन लकडाउन नगरेको होला ? यस विषयमा सजिलो गरी के बुझ्न् जरुरी छ भने गत वर्ष विश्वकै लागि कोरोना नयाँ कुरो थियो र यसको विषयमा धेरै कुरा जानकारी हुन सकेको थिएन । तर अहिले कोरोनाको विषयमा सतर्कता तथा अन्य सम्बन्धित धेरै कुराहरु सर्वसाधारणलाई जानकारी भइसकेको छ । यस अवस्थामा सर्वसाधारणले सतर्कता अपनाउनु पर्ने हो र सरकारले त्यसको वातावरण बनाइदिनु पर्ने हो । हो, जहाँ धेरै संख्यामा कोरोना संक्रमित देखिन्छन्, त्यहाँ निषेधाज्ञा जारी गरेर स्थानीय प्रशासनले नै कोरोनाको विस्तार विरुद्ध आवश्यक कदम चालिरहेको देखिएको छ । सरकारले यस प्रकारको निर्णय गरिसकेको छ कि जिल्लामा आवश्यकतानुसारको निर्णय प्रमुख जिल्ला अधिकारीले लिन सक्छन् । अहिले यही भइरहेको पनि छ । यस्तै प्रदेश सरकार पनि कोरोना नियन्त्रणको लागि सक्रिय देखिएको छ । कोरोना नियन्त्रणको लागि प्रदेश सरकारले हरेक जिल्लाको लागि सहजीकरण गर्न एक जना मन्त्रीलाई नै जिम्मा लगाएको छ । साथै हरेक जिल्लामा कोरोना महामारीसित जुध्नलाई भरपर्दो जनशक्तिको लागि दरबनदी पनि सिर्जना गरेको छ । स्थानीय सरकार पनि सकेसम्मको सहयोग गत वर्ष गरेको हो र यस वर्ष पनि यस किसिमको सहयोग गर्ला भन्ने कुरा निश्चित जस्तै छ । केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरु कोरोना नियन्त्रणमा अत्यन्त सक्रिय छन् ।
राज्यका अन्य निकाय तथा अंगहरुले आफ्ना जिम्मेवारी निर्वाह गरेको देखिएको छ तर सर्वसाधारण भने अझै पनि लापरवाह बनेको छ । लापरवाहीकै परिणाम हो कि कोरोनाले यति धेरै विस्तार पाइरहेको छ । लापरवाहीको कारणले नै हुनुपर्छ कि गत वर्ष कोरोनाको विस्तार मानौँ साधारण हावा थियो र अहिलेको कोरोनाको विस्तारलाई आँधी मान्न सकिन्छ । साधारण हावा चल्दा खासै सावधानी अपनाइँदैन तर जब आँधी चल्दछ तब मानिसले के गर्दछन् ? वास्तवमा जब ठूलो हावाहुरी वा आँधी आउँछ तब सर्वसाधारण के गर्दछन् ? अझ जब यस्तो ठूलो आँधी आउँछ र लाग्छ कि घर उडाउँछ, रुखलाई ढाल्छ तथा अन्य वनस्पतिलाई पनि नोक्सान गर्दछ । यस किसिमको आँधीको समयमा साधारण मानिसले के गर्दछ ? यस्तो समयमा मानिस आँधी र हुरीसित जुध्छ कि कतै आफूलाई सुरक्षित हुने ठाउँमा सुरक्षित बनाउँछ ? वास्तवमा यस्तो समयमा मानिसले अपनाउने उपायजस्तै अहिलेको समयमा पनि अपनाउनु पर्ने हुन्छ । अहिलेको समय नै ठूलो आँधी हुरीको जस्तो रहेको छ । यस्तो कोरोनाको महामारीको समयमा कोही कसैले मलाई केही हुँदैन, मलाई कोरोना लाग्दैन भन्नु हुँदैन । यस्तो अवस्थामा सबैभन्दा बढी सुरक्षित रहन आवश्यक छ । सरकारले गत वर्ष लकडाउन गरेको थियो वास्तवमा सर्वसाधारणलाई घरमै सुरक्षित राख्न र अहिले पनि विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ सर्वसाधारणलाई घरमै राख्नको लागि । सर्वसाधारण आफ्नो घरमा केही दिन बसिदिए कोरोना विस्तारको चेन तोडिन्छ र कोरोनाको विस्तार आफैँ रोकिन्छ भन्ने हो । पहिलेदेखि नै यस किसिमको उपायको अवलम्बन देश र विदेशले गरेकै हो । यही उपाय अहिले अपनाउँदै सरकारले अन्य उपायहरु पनि गरिरहेका छन् । राज्य कतिसम्म सम्वेदनशील छ भन्ने कुराका केही उदाहरणहरु पनि लिन सक्छौँ ।
अधिकांश सञ्चार माध्यमबाट घरबाहिर ननिस्कन र बाहिर निस्कनै परे सुरक्षा अपनाएर निस्किन सुझाव र आग्रह प्रचार प्रसार भइरहेका छन् । जब हामी कसैलाई मोबाइलमा फोन लगाउँछौँ, सबैभन्दा पहिले बज्ने रिंगटोनले निरन्तर कैयौँ महिनादेखि यही सन्देश दिइरहेको छ कि मास्क बिना बाहिर ननिस्कौँ । यसलाई चेक गर्न ठाउँ ठाउँमा प्रहरीले पनि सहयोग गरेको देखिन्छ । अझ कतिपयबाट एक सय रुपैया जरिवाना पनि असुल गरेर राजस्वमा पठाइरहेको छ प्रहरी । यो ठूलो कुरो होइन, तर यससँगैको महत्वपूर्ण कुरो के हो भने प्रहरीले बाटो हिँड्नेलाई मास्क पनि वितरण गरेको छ । अधिकांश सरकारी कार्यालयमा झन्डै पच्चीस प्रतिशत कर्मचारी राखेर कार्य सम्पादन हुन थालेको छ । सरकारले एक वर्षदेखि भन्सारलाई पूर्णतया खोलेको छैन । नेपालमा चल्ने भारतीय नम्बर प्लेटका गाडीहरुबाटै कति राजस्व कम भएको होला ? निषेधाज्ञा गर्दा विभिन्न स्रोतबाट सरकारलाई जाने कर पनि निकै कम हुन जान्छ । विद्यालयहरु बन्द गरिसकेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको तलब भने राज्यले दिनै पर्दछ । यो संकटको घडीमा स्वास्थ्यकर्मीहरुको ठूलो भूमिका हुने कुरालाई मध्यनजर गर्दै सरकारले स्वास्थ्यकर्मी निरुत्साहित नहोओस् र अझ उत्साहित भएर काम गरोस् भनेर स्वास्थ्यकर्मीको सम्मानमा पचास प्रतिशत भत्ता थप्ने घोषणा पनि गरेको छ । कोरोनाको नियन्त्रण गर्न अन्य उपायहरु पनि अवलम्बन गर्नुका साथै विभिन्न देशबाट कोरोनाविरुद्ध भ्याक्सिन ल्याउन पनि सरकारले प्रयास गरिरहेको छ । कोरोनाको कहरको समयमा सरकार चुप लागेर बसेको भन्न कदापि मिल्दैन । जसरी आँधी र तुफानलाई देखेर त्यसपूर्व नै तत्काल बचावको लागि हुन सकिने जति तयारी एकदम हतारमा गर्दछौँ, त्यसै किसिमको तयारी हरेकले गर्नुपरेको छ ।
अझ यसभन्दा पनि महत्वपूर्ण पक्ष यस किसिमको आँधी वा तुफानको समयमा जसरी जहाँ पाउँछौँ, त्यसरी र त्यहीँ नै जोगिने कोसिस गर्दछौँ ठिक त्यसै गरी अहिलेको अवस्थामा हरेक व्यक्ति जोगिनु परेको छ । हरेक व्यक्तिले आफूलाई जोगाउने तथा हरेक परिवारले आफूलाई जोगाउने कोसिस गर्नु नै अहिलेको समयको माग हो । आफ्नो सुरक्षा कसैले गरिदिएन भन्ने होइन कि आफ्नो सुरक्षा आफैले गर्ने र आफ्नो सुरक्षाको लागि आफै नै जिम्मेवार हुने बानी पनि बसाल्नु आवश्यक छ । बिना काम घरबाट बाहिर ननिस्कन बारम्बार सुझावहरु आइरहेकै छन् । एक जना मित्रले आफ्नो फेसबुक वालमा यसरी लेखेका छन् – “कृपया मेरो घर नआउनुहोला म पनि हजुरको घर आउँदिन । अहिलेको समयमा मेरा सबै हित, मित्र तथा आफन्तले यस कुरामा मलाई सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।” यसरी नै लेख्नु पर्दछ भन्ने होइन तर बिना काम बजार पनि नजाने र कसैको घर पनि नजाने समय भइसकेको सन्देश भने यसबाट लिन सकिन्छ । यदि कोही कसैको घरमा नगई नहुने अवस्था छ भने त जानै पर्दछ र आउनेलाई रोक्नु पनि हुँदैन । आवतजावत गर्ने कामलाई पूर्णतया बन्देज भन्दा पूर्णतया सुरक्षित बनाउनु महत्वपूर्ण कुरा हो । आएपछि के गर्ने, कहाँ बसाल्ने, कसरी कुरा गर्ने र गएपछि के गर्ने ? यी पक्षमा गम्भीरतापूर्वक ध्यान दिने हो भने केही हदसम्म सुरक्षित रहन सकिन्छ । आफू र आफ् नो परिवारलाई सुरक्षित बनाइरहन आफै सम्वदेनशील भइरहने हो भने यस महामारीको चेनलाई तोड्न सकिन्छ र रोकथाममा सहयोग गर्न सकिन्छ । आफू बाँचौँ र अरुलाई पनि बचाऔँ भन्ने नारा जुन धेरै पहिलेदेखि चल्दै आएको छ, यसको मूल मर्मलाई अहिले यसरी नै आत्मसात गरौँ । कोरोना कहरलाई विचार गर्दै हरेकले हृदयमा यस नारालाई सजाऔँ – आफू बाँचौँ र अरुलाई पनि बचाऔँ ।


