कोरोना महामारीका कारण स्वास्थ्य सामग्रीको कालोबजारी बढेको छ । एक हजार रुपैया पर्ने ‘ अक्सिमिटर’ अहिले व्यवसायीले अभावको बहाना बनाउँदै तीनगुणा महँगोमा विक्री गरिरहेका छन् । ‘अक्सिमिटर’ मानव शरिरको अक्सिजन नाप्न प्रयोग गरिन्छ । जनकपुरस्थित प्रादेशिक अस्पताल अगाडी रहेको सरोज सर्जिकल सप्लायर्सले १ हजार पर्ने अक्सिमिटर ३२ सयमा बेचेको खुलेको छ ।
उक्त सप्लार्यले पत्रकार सुरेन्द्र यादवलाई ठगेको हो । उनलाई अक्सिमिटरको मुल्यबारे थाहा थिएन । ३२ सयमा खरिद गर्दा बढी मुल्य लिएको शंका लागेपछि अन्य फार्मेसीमा गएर मूल्य पत्ता लगाए । उनले भने, ‘३२ सयमा खरिद गरेको अक्सिमिटरको मूल्य एक हजार मात्र परेको थाहा पाएपछि आश्चर्य लाग्यो । तर किनिसकेपछि फिर्ता गर्न गएननौं ।’ निषेधाज्ञामा अभावको बहाना बनाएर आफूलाई ठगी गरेको उनको भनाई छ । अक्सिमिटर खरिद गर्दा सो सप्लायर्सले बिल समेत नदिएको उनले बताए । उनका अनुसार कारबाहीमा पर्ने डरले बिल नदिएको हुनसक्छ । कोरोनाले आक्रान्त पारेको बेला खुलेयाम कालोबजारीमा लागेका औषधी व्यवसायीलाई कारबाही गर्नुपर्ने उनको माग छ । यता, फार्मेसीका संचालक सरोज यादवले अक्सिमिटर ३२ सयमा बेचेको स्वीकारे । उनले आफुसँग नरहेको र बाहिरबाट २८ सयमा खरिद गरेर ल्याएका कारण ३२ सयमा बेचेको बताए । त्यो अक्सिमिटरको त हजार रुपैयाँ मात्र पर्छ नी भन्ने जिज्ञासामा संचालक यादवले भने, ‘हजार रुपैयाँ त होइन्, १२ सयसम्ममा खरिद गरेको छु । यो पहिलेको रेट हो ।
पछिल्लो समय १८ सयमा खरिद गरेको थिए । तर त्यो माल पनि सकिसक्यो । अहिले बाहिरबाट ल्याउनुपदा ३५ सयसम्ममा बेच्नुपर्छ । बेच्छु ।’ ‘निषेधाज्ञाका कारण अहिले समान नै पाइरहेको छैन’, उनले भने, ‘हामी पनि महँगोमा ल्याउँछु । अनी महँगोमा बेच्नु त पर्यो ।’ १२ सयदेखि १८ सयमा किनेको अक्सिमिटर अहिले ३२ सयमा बेच्नु अपराध होइन् भन्ने जिज्ञासामा उनले भने– त्यो त हो । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले हजार÷१२ सय पर्ने अक्सिमिटर ३२ सयमा बेच्न नमिल्ने बताए । उनले भने, ‘निषेधाज्ञामा यसरी महँगो मुल्यमा स्वास्थ्य सामग्री बेच्नु कालोबजारी हो । यस्तालाई कारबाही हुनुपर्छ ।’ जिल्ला प्रशासन कार्यालय धनुषाले कालोबजारी हुन नदिने भनेर गरेको निर्णय कागजमै सिमित भएको छ । बजारमा एकदिन पनि अनुगमन गरेका छैन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला ।
अक्सिमिटरमा ठगी भइरहेको विषयमा बुझ्न उनलाई पटक पटक फोन गर्दा पनि रिसिभ गरेका छैन ।



