अपडेट 
२०७८ बैशाख २६, आईतवार ०७:०३

सर्लाही | जिल्लामा अक्सिजन तथा कोरोना भाईरस संक्रमितलाई दिने अति आवश्यक औषधिको चरम अभाव भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधी र अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा समस्या सृजना भएको स्वास्थ्य कार्यालय प्रमुख स्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जानकारी दिए । जिल्ला स्तरीये कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले पटक–पटक सुरक्षा सतर्कता कसरी अपनाउने र कोरोना भाईरस फैल्न नदिने जस्ता तयारीहरु गरेपनि सर्लाहीमा शनिवारसम्म सकृय संक्रमितको संख्या २४३ पुगेको छ । यस्तै ४ जना पुरुषको मृत्यु पनि भइसकेको छ । संक्रमित तीब्र गतिमा बढ्न थालेपछि आईतवारदेखि ३१ बैशाख सम्मको लागि सर्लाहीमा डीसीसीएमसीले निषेधाज्ञा जारी गरेको छ । छिमेकी मुलक भारतमा दैनिक लाखौं लाख संक्रमित भेटिरहेपनि सिमा नाका पूर्णरुपमा सिल भएको छैन । नाका सिल गर्ने स्थानीय प्रशासन सर्लाहीका निर्णय कागजमै सिमित भएको छ । प्रदेश २ सरकारले जिल्ला अस्पताल सर्लाहीलाई अक्सिजन खरिदको लागि ५ लाख र अटोमैटिक अक्सिजन पलान्ट निर्माणका लागि ५० लाख सहयोग गरि सकेको भएपनि हालसम्म अक्सिजन नआएको र पलान्ट तयार गर्ने कार्यमा समेत ढिलाई भएको जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डर (मे.सु.) संजिव कुमार सिंहले बताए ।

मेसु सिंहका अनुसार ५ लाखको अक्सिजन खरिदको लागि टेण्डर गरि सकेको तर भारतमा लकडाउन भएपछि अक्सिजन आउन सकेका छैन । त्यस्तै अटोमैटिक अक्सिजन पलान्ट निर्माणको कार्य घर निर्माणमा ढिलाई भएको कारण सञ्चालनमा आउन नसकेको उनको भनाई छ । अब तीन दिनभित्रै अक्सिजन आइपुग्ने मेसु सिंहले बताए । हालसम्म जिल्लामा स्थानीय सरकार वा स्थानीय प्रशासनले कोरोनासंगको लडाईमा क्वारेन्टाइन निर्माण गर्ने वा आईसोलेसन वार्ड जस्ता भौतिक सनसाधन निर्माण गरेपनि कोरोना संक्रमितलाई उपचार गर्नुपरे जिल्लामा औषधी र अक्सिजनको आभाव रहेको छ । कोरोना भाईरस संक्रमित भएपछि अतिआवश्यक औषधी रेमडीसिबर, आईभरमेटिन, एजिथ्रो माइसिन र डक्सीसाइक्लिन जस्ता औषधी केन्द्र सरकारको मातहतमा मात्र रहेको छ, जिल्लाका अस्पतालहरुमा संघ सरकारले नपठाएको स्वास्थ्य प्रशासक नायक बताउँछन् । कोरोना संक्रमित बिरामीको अवस्था जटिल बनेपछि औषधीहरुको नितान्त आवश्यकता हुन्छ । रेमडीसिबर जस्ता औषधी नपाएपछि संक्रमित व्यतmीको ज्यान समेत जानसक्छ । सर्लाही जिल्ला अझ पनि यस्ता महत्वपुर्ण औषधीको पहुचबाट टाढा रहेको छ ।

संक्रमितको अवस्था जटिल बनेपछि थप उपचारका लागि जनकपुर वा बिरगंज लगेपनि त्यहाँ शैयाको अभाव रहेको छ, कतिपयले त भर्ना समेत पाउदैन । शैया नपाएर बिरामीहरु भौतारिनु परेको आफन्तजनले गुनासो गरेको छ ।

Comment


Related News

Latest News

Trending News