अपडेट 
२०७८ बैशाख २७, सोमबार ०७:३९

प्रदेश २ मा स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले राखेको ७ सय अक्सिजन सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश २ अन्तर्गतका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए । अक्सिजन सहितको १ सय ३२ र खाली ५ सय ६८ गरी ७ सय वटा अक्सिजन सिलिण्डर बरामद गरी नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएको अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिष्ट्रिब्युटर्सलाई बुझाईएको छ । बरामद अक्सिजन स्वास्थ्य प्रयोजनमा प्रयोग गर्ने गराउने तर्फ आवश्यक कारवाही भईरहेको र स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनको लागी स्टक गरी राखेको ब्यक्ती तथा समबन्धित निकायलाई आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको प्रसाईले बताए । स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन प्रहरीले आग्रह गरेको छ ।

प्रहरी र थुनुवा संक्रमित
प्रदेश २ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा १÷१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले बताए । पर्साका एक जना अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ । प्रदेशमा ५६ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी पर्सा प्रहरीको नियन्त्रणमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमित छन् । रौतहटका १० जना, धनुषाका ५ जना तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १÷१ जना थुनुवामा संक्रमण देखिएको छ । संक्रमित थुनुवाहरुलाई पनि प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News