लहान । नेपालकै पहिलो राजमार्गका रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्र शुरु गरिएको छ ।
पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र शुरु भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । सिरहा नगरपालिका–१९ देखि औरही गाउँपालिका–४ लवटोलियासम्मको करीब पाँच किलोमिटर सडक कालोपत्र सकिएको सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी कम्पनिका कन्ट्याक्ट म्यानेजर शशिकुमार यादवले जानकारी दिनुभयो । अन्य सडकखण्डमा समेत तीव्र रूपमा कालोपत्र भइरहेको जनाइएको छ । दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिनुभयो । तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको कम्पनीका म्यानेजर यादवले बताउनुभयो । मधेशकै लाइफलाइनका रूपमा मानिएको हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारणसमेत खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनाका साथै हजारौँ युवामा रोजगारीको अवसर सृजना हुने स्थानीयवासीको विश्वास छ । हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए ।
सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ । यस्तै पूर्वराजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब १८ किलोमिटर सडक कालोपत्र गरिसकिएको निर्माण कम्पनि रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिनुभयो । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताउनुभयो । करीब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । डिभिएम सात मिटर र दुवै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । रासस


