अपडेट 
२०७८ बैशाख २८, मंगलवार ०७:२४

निषेधाज्ञा जारी रहेको महोत्तरीको जलेश्वर नगरपालिकाको केहि क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले पूर्ण रुपमा बन्द गरेको सूचना जारी गरेको छ ।

केहि दिनभित्रै आधा दर्जन कोरोना संक्रमितको मृत्यू भएपछि जलेश्वरका केहि क्षेत्रलाई पूर्ण रुपमा बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए । उनले जारी गरेको सूचना अनुसार जलेश्वर बजारको मिना बजार तथा आसपास क्षेत्र, साहुजीपट्टी र महादेव मन्दिर क्षेत्रलाई पूर्ण रुपमा बन्द गरिएको छ । सोमवार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकबाट मंगलवार (वैशाख २८ गते) विहान ६ बजेदेखि सो क्षेत्रलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । निर्णयको बर्खिलाप गरेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने चेतावनी समेत दिइएको छ । महोत्तरी जिल्लाभर वैशाख २२ गतेदेखि नै निषेधाज्ञा जारी छ । ‘निषेधाज्ञाका बेला पनि साँझ– विहान सर्वसधारण चिया नास्ता खाने बहानामा बजारमा भीडभाड गर्दै आएको थियो’, उनले भने, ‘ अब बिना अत्यावश्यक काम बाहेक सडकमा निस्किनेलाई कारबाही हुन्छ ।’ पूर्ण बन्द गरिएको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले पूर्णरुपमा प्रयासरत छन् । तर सर्वसधारण भने बजारमा भीडभाड गर्दा कोरोना संक्रमण झन तीब्र गतिमा बढिरहेको छ ।

Comment


Related News

Latest News

Trending News