कोभिड अस्पतालका चिकित्सकमाथि हातपात गर्दै तोडफोड गर्नेलाई प्रहरीले कारवाही गर्नेभएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका छन् ।
जलेश्वर नगरपालिका–४ का ५५ वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि जलेश्वर अस्पताल महोतरीबाट कोभिड अस्पताल जनकपुरको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएपछि आक्रोषित आफन्तले मंगलबार साँझ स्वास्थ्यकर्मीलाई हातपात गर्दै तोडफोड गरेका थिए । अस्पतालको ३ भेन्टिलेटर सहित अन्य उपकरणहरु तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले जलेश्वर–४ का ३४ वर्षीय मनोज महतो र २७ वर्षीय पप्पु महतोलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए । कोभिडबाट आफन्तको मृत्यु भएका कारण दाहसंस्कार गर्न जिम्मा लगाइएको र अस्पतालबाट जाहेरी आएअनुसार मुद्दा दर्ता गरिने प्रहरी नायव उपरीक्षक मिश्रले बताए । उपचारको क्रममा मृत्यु भएपछि स्वास्थ्यकर्मीलाई कुटपिट भएपछि आफुहरु असुरक्षित भएर काम गर्न नसक्ने बताएपछि स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्थानिय प्रशासनले सुरक्षा प्रत्याभुति गराएको हो । सुरक्षाको प्रत्याभुति गराएपछि कोभिड अस्पतालको सेवा सुचारु भएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले बताए । अस्पतालको स्टाफ र्नसलाई हातपात गर्नुको साथै दोश्रो तल्लाको वार्डमा रहेको ३ भेन्टिलेटरमा तोडफोड गरी क्षति गरेको डा.यादवले बताए ।
सिकिस्त अवस्थामा जलेश्वरबाट रेफर भएका कोरोना संक्रमितलाई निजि अस्पतालमा भर्ना नलिएपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो, डा.यादवले भने,‘संक्रमित ल्याएपछि स्वास्थ्यकर्मी पीपीई लगाएर भेन्टिलेटरमा राखी उपचार गर्ने क्रममा मृत्यु भयो । स्वास्थ्यकर्मीले मृत्यु घोषणा गरेपछि उल्टै हातपात र तोडफोड भयो ।’ ज्यान जोखिममा राखेर कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई हातपात हुन थालेपछि स्वास्थ्यकर्मीको मनोबल घटेको छ, उनले भने ।