अपडेट 
२०७८ बैशाख ३०, बिहीबार ०७:३८

कोरोना भाइरसको पहिलो चरणमा बढ्दै गएको संक्रमणको चपेटामा परेकाहरुलाइ सघन उपचार गर्ने उदेश्यले प्रदेश सरकारको लगानीमा जिल्ला अस्पताल गौरमा स्थापना गरिएको आइसीयु तथा भेन्टिलेटर एक बर्ष विति सक्दा पनि संचालनमा आएको छैन् ।

चिनको हुवान शहरबाट २०७६ मा फैलिएको कोरोना महामारीको नियन्त्रण गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले रोकथाम तथा उपचारमा देखाएका सक्रियता दोस्रो चरणमा प्रभावकारी देखिएको छैन । प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले गौर अस्पतालका आइसीयु भेन्टिलेटर कक्षको उदघाटन गरेका थिए । तर जनशक्तिको अभावले गर्दा कोरोना भाइरसको दोस्रो लहरमा पनि संचालनमा आउन सकेको छैन । ६ लाख ८४ हजार भन्दा बढी जनसंख्या भएको रौतहटमा जिल्ला अस्पताल व्यवस्थित हुन नसकेको कारण विरामीहरुलाई उपचारको अभावमा ज्यान गुमाउनु परिरहेको छ । बैशाख महिनाको पहिलो हप्तादेखि बढेको कोरोना भाइरसको दोस्रो भेरिएन्ट सहितको संक्रमण तिब्र रुप लिइ रहदा पनि रौतहट जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरु भने कुनै चासो देखाई रहेका छैन । राणाकालीन शासन व्यवस्थादेखि संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आए पनि गौर अस्पतालको अवस्था फेरिएको छैन । मुलुकमा नयाँ संरचना लागु भएको साढे तीन वर्ष भन्दा बढी वितिसक्दा पनि अस्पतालमा परिवर्तन हुन सकेको छैन । रौतहटका आम नागरिक जिल्ला अस्पतालको अवस्था आज सुध्रिन्छ भोलि सुध्रिन्छ भनि आशा गरिदै आएको छ ।

देशको नेतृत्व गर्ने मौका पाएका नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री हुदा पनि अस्पतालको व्यवस्था परिवर्तन गर्न सकिएन । मधेशवादी दलका नेता उपेन्द्र यादव , राजेन्द्र महतो स्वास्थ्य मन्त्री भएपनि गौर अस्पतालमा दरवन्दी अनुसारको चिकित्सक व्यवस्था गरेन , माओवादीका नेता प्रभु साह भौतिक पूर्वाधारको विकासमा बढी लगानी गरेपनि स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्ने तर्फ ध्यान दिएनन् । कोभिड १९ को दोस्रो लहरमा जिल्लामा २६ जनाले उपचारको अभावमा ज्यान गुमाएको अवस्थामा प्रदेश सरकार र स्थानीय सरकार आवश्यकता अनुसारको अनुभवी चिकित्सकको पूर्ति गर्न सकेको छैन । संक्रमित भएर आइसोलेशन वार्डमा उपचारको क्रममा ६ जनाले ज्यान गुमाएको आइसोलेसन वार्डका इन्चार्ज डा. घनश्याम ठाकुरले बताएका छन । कोभिड संक्रमितहरुको उपचारको लागि अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा स्थापना गरिएको १० बेडको आइसीयु र ४ बेडको भेन्टिलेटर संचालनमा आउन नसकेको उनले बताए । नयाँ उपकरण जडान गरिएपनि सेवा प्रबाह हुन नसकी उपचारको अभावमा विरामीहरुले ज्यान गुमाउन बाध्य छन् । २० वटा अक्सिजन सिलिन्डर उपलव्ध रहेको ३० वटा सिलिन्डर अक्सिजन भर्न गएको जानकारी दिदै डा. ठाकुरले दक्ष अनुभवी र कन्सल्टेन्ट अभावको कारण उपचार गर्न समस्या भैरहेको जनाए । एमडी डाक्टर १ जना तथा एक जना येनेथेसिया मात्र रहेकोले उपचारमा समस्या भइरहेको डा. ठाकुरको कथन रहेको छ ।

जिल्ला अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. कृष्ण साहले दरवन्दी अनुसारको विशेषज्ञ डाक्टरको अभाव रहेको बताए । मेडिसिन ,सर्जन , डाक्टरको दरवन्दी भएपनि जिम्मेवार निकायले समयमा ध्यान नदिएकोले अस्पतालको स्तरीय सेवा प्रभावित भैरहेको उनको भनाइ छ । प्रदेश सरकारका मन्त्रीलाई जनशक्ति अभाव भएकोले आपूर्ति गर्न पटक पटक घच्च्याउदा पनि चासो नदेखाएको उनले गुनासो गरे । जिल्ला अस्पताल संचालन समितिको संयोजक शेख जमशैदले चिकित्सक अभावको समस्या समाधान गर्न कर्मचारीको भर्ना गर्ने प्रक्रिया अगाडी बढाईएको जानकारी दिए । कोभिड अस्पतालको रेखदेखको जिम्मा पाएका प्रदेश सरकारका उद्योग, बन, पर्यटन मन्त्री राम नरेश राय यादवलाइ आग्रह गर्दा चाडै आपूर्ति गर्ने प्रतिवध्ता दिएको जानकारी गराए । महामारीको बेला जिल्ला अस्पतालमा जडान गरिएको नयाँ उपकरण संचालन गर्न आवश्यक देखिएको छ । राजनीतिक चलखेलको कारण जिल्ला अस्पतालको अवस्था सुधार हुन नसकेको स्थानीयहरुको आरोप रहेको छ । गौर नगरपालिकाका मेयर अजय गुप्ताले चुनावको बेला जिल्ला अस्पताललाइ व्यवस्थित गरि सरल सुलभ रुपमा स्तरीय स्वास्थ्य सेवा प्रभाव गराउने गरेको चुनावी प्रतिवध्ता समेत पुरा नगरेको नगरबासीको आरोप रहेको छ ।

प्रदेश सरकारले दिएको उपकरण जनशक्तिको बाटो पर्खिरहेको छ भने कोभिड १९ बाट संक्रमित भएका विरामीहरु स्तरीय उपचारको अभावमा ज्यान गुमाई रहेको छ । सामान्य रोगको उपचार गर्ने अवस्थामा रहेको जिल्ला अस्पतालको रबैया देखेर गम्भीर प्रकृतिका विरामीहरु अस्पतालमा उपचार गराउन नगई निजि अस्पतालमा जाने गरेको छ । सदर अस्पतालमा गम्भीर प्रकृतिका विरामीहरु उपचार गराउन जादा रेफर गर्ने गरेको कारण अस्पताल प्रतिको विश्वास घट्दै गएको छ । प्रादेशिक राजधानी जनकपुरमा आवश्यकता भन्दा बढी चिकित्सक रहेकोले महामारीको वेलामा आम नेपाली जनताको ज्यान जोगाउनका लागि प्रदेश सरकारलाइ तुरुन्त चिकित्सकको व्यवस्था गर्न स्थानियहरुले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News