मलगंवा । प्रदेश २ मा कोरोना सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको छ । सक्रिय संक्रमित भएपछि जुनसुकै बेला पनि अक्सिजनको आवश्यकता पर्छ । त्यसैले पनि अहिले प्रदेश २ का अधिकांश जिल्लामा अक्सिजनको अभाव हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले भने अनुमति बिना अक्सिजन नबेच्न सम्बन्धित सबैलाई आदेश दिएको छ ।
बिहीवार प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बिना अनुमति अक्सिजन सिलिण्डर नबेच्न आदेश दिएका हुन् । ‘अन्य जिल्लाका लागि संक्रमितको उपचारमा प्रयोग गर्नका लागि अक्सिजन सिलिण्डर माग भएकोमा समेत जिल्ला प्रशासनको आदेश र स्वीकृति बिना बेच्न नपाउने,’ प्रजिअ तामाङले जारी गरेको सूचनामा उल्लेख छ । अनुमति बिना अक्सिजन सिलिण्डर बेच्न नदिने निर्णय कार्यान्वयन गराउने जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइएको छ । अक्सिजन सिलिण्डरको आधिकारिक विक्रेतालाई पत्राचार गरी अक्सिजन सिलिण्डरको खाली र भरिएको अपडेटेड तथ्यांक लिने र जिल्ला प्रशासनको स्वीकृति बिना बेच्न नपाउने र अन्य काममा प्रयोग गर्न दिन उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सलाई जिम्मेवारी दिइएको छ । अक्सिजनको अभाव हुन नदिन सर्लाही प्रशासनलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयले ५ लाख रुपैया उपलब्ध गराएको छ । उक्त रुपैयाँले अक्सिजन रिफिल गर्ने र रिफिल गर्दा बचेको रकमबाट नियमानुसार अक्सिजन सिलिण्डर खरिदमा खर्च गर्ने निर्णय गरिएको प्रजिअ तामाङले जानकारी दिए । यता डीसीसीएमसी धनुषाले पनि नेपाल प्रहरीको समन्वयमा १२५ अक्सिजन सिलिण्डर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग अनुरोध गर्ने निर्णय गरेको छ ।



