जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ ले कोरोना संक्रमित पत्रकारलाई निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सकारकारसँग माग गरेको छ ।
महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णले बिहीवार प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । गत वर्ष प्रदेश सरकारले पत्रकारलाई कोरोना संक्रमण भएमा निःशुल्क उपचार र मृत्यू भएमा राहत दिने घोषणा गरेको थियो । तर कार्यान्न्वयण नगरेकोमा महासंघले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीका बेला पनि फ्रन्ट लाइनमा खट्नेमध्येका १६ जना यस प्रदेशका पत्रकार संक्रमित बनेका छन् । उनीहरु विभिन्न अस्पतालमा उपचाररत छन् । कोरोनाले दुई पत्रकारको ज्यान नै लिइसकेको छ । मृतक पत्रकार मनोज कुमार चौधरी र संचार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ । ‘राहत र पत्रकारहरुको निशुल्क उपचारको व्यवस्थापनले संचारजगत हतोत्साहित नहुने, उहाँहरुको मनोबल उच्च रहने र कोभिड १९ महामारीका साथै अन्य समाचार र विचारको प्रवाहको गतिमा आउन सक्ने सुस्तता रोहिने भएकाले प्रदेश सरकारले यसलाई गम्भीरताका साथ लिनेछ भन्ने चाहना रहेको छ’, मन्त्री यादवलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै कोरोना संक्रमणका कारण प्रभावित भएका संचारसंस्थाहरुलाई विशेष राहत र सम्पूर्ण संचार संस्थाहरुलाई कोभिड १९ महामारी नियन्त्रण सम्बन्धी विज्ञापनका साथै अन्य लोक कल्याणकारी विज्ञापन दिन पनि प्रदेश सरकारको महासंघले ध्यानाकर्षण गराएको छ ।



